नबिल बैंकलाई 'एशियन बैंकिङ एण्ड फाइनान्स अवार्डस्' मा दुई उपाधि

काठमाडौँ । नबिल बैंकले 'एशियन बैंकिङ एण्ड फाइनान्स अवार्डस्, २०२५' मा दुई प्रतिष्ठित उपाधि जितेको छ । बैंकले 'साइबर सेक्युरिटी इनोभेसन अवार्ड नेपाल' र 'नेपाल डोमेस्टिक प्रोजेक्ट फाइनान्स बैंक अफ द इयर' अवार्ड प्राप्त गरेको हो ।

नबिल बैंकले डिजिटल सुरक्षालाई उच्च प्राथमिकता दिँदै सुरक्षित, भरपर्दो र सहज बैंकिङ अनुभव प्रदान गर्न अपनाएको रणनीतिका लागि 'साइबर सेक्युरिटी इनोभेसन अवार्ड' प्राप्त गरेको हो । यसैगरी, देशका महत्त्वपूर्ण पूर्वाधार तथा विकास आयोजनाहरूमा वित्तीय साझेदारी गरेकोले बैंकलाई 'नेपाल डोमेस्टिक प्रोजेक्ट फाइनान्स बैंक अफ द इयर' को उपाधि दिइएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले यी अवार्डहरू सम्पूर्ण टिमको परिश्रम र नवप्रवर्तनप्रतिको समर्पणको परिणाम भएको बताएका छन् । उनले ग्राहक, साझेदार र सरोकारवालाहरूलाई आभार व्यक्त गर्दै भविष्यमा पनि सुरक्षित र स्मार्ट बैंकिङ सेवामार्फत नेपाली बैंकिङ क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।