इम्पेरमेन्ट चार्ज घट्दा हिमालयन बैंकको नाफामा झिनो वृद्धि, खुद ब्याज, फि तथा कमिशन घट्यो
हिमालयन बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ ।
अघिल्लो आर्थिक वर्ष १ अर्ब २३ करोड रुपैयाँ खुद नाफा कमाएको यस बैंकले गत आर्थिक वर्ष १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । समीक्षा अवधिमा बैंकको यस्तो नाफा २२.१५ प्रतिशत बढेको हो ।
खुद ब्याज आम्दानी घटे पनि इम्पेरमेन्ट चार्ज घटेका कारण खुद नाफा बढ्न पुगेको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.९९ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ६०.९८ प्रतिशत घटेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ४.७२ प्रतिशत घटेको छ भने सञ्चालन नाफा ८८.४१ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ५ अर्ब २६ करोड रुपैयाँबाट घटेर १ अर्ब ५३ करोड रुपैयाँमा झरेको छ । जसका कारण सञ्चालन मुनाफा र खुद नाफा बढ्न पुगेको हो ।
२१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा १६ अर्ब २५ करोड रुपैयाँ सञ्चित छ । असार मसान्तसम्ममा बैंकले ३ खर्ब ९ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३२ अर्ब ८५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ७ अर्ब १० करोड रुपैयाँ ऋणात्मक रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ७९ पैसा ऋणात्मक रहेको छ ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ २७ पैसा बढेर ६ रुपैयाँ ९८ पैसा पुगेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ३३.९८ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ ७ पैसा रहेको छ ।