एनएमबी बैंकको नाफासँगै बढ्यो प्रतिसेयर आम्दानी, अरु सूचक कस्ता ?

एनएमबी बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ ।

अघिल्लो आर्थिक वर्ष २ अर्ब २४ करोड रुपैयाँ खुद नाफा कमाएको यस बैंकले गत आर्थिक वर्ष ३ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । समीक्षा अवधिमा बैंकको यस्तो नाफा ४६.२२ प्रतिशत बढेको हो ।

खुद ब्याज आम्दानी सामान्य बढे पनि इम्पेरमेन्ट चार्ज घटेका कारण खुद नाफा वृद्धिदर बढी देखिएको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.१४ प्रतिशत र खुद फि तथा कमिसन आम्दानी २१.६२ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १४.३४ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफ ६४.४६ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब ३ करोड रुपैयाँबाट घटेर ९५ करोड ८० लाख रुपैयाँमा झरेको छ । जसका कारण सञ्चालन मुनाफा र खुद नाफा वृद्धिदर खुद ब्याज आम्दानीको भन्दा बढी देखिएको हो ।

१८ अर्ब ३३ करोड ६७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा १४ अर्ब ३१ करोड रुपैयाँ सञ्चित छ। असार मसान्तसम्ममा बैंकले २ खर्ब ८० अर्ब ९२ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २९ अर्ब ११ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९० करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी १० रुपैयाँ ४१ पैसा रहेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५ रुपैयाँ ६६ पैसा बढेर १७ रुपैयाँ ९० पैसा पुगेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १५.१० गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ ६८ पैसा रहेको छ ।