प्रधानमन्त्रीलाई ‘हाउ डेमोक्र्यासिज् डाई’ पुस्तक पढ्न शिशिर खनालको सुझाव
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘हाउ डेमोक्र्यासिज् डाई’ (लोकतन्त्र कसरी मर्छ) नामक किताब पढ्न सुझाएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । ‘प्रधानमन्त्रीलाई मेरो आग्रह– हाउ डेमोक्र्यासिज् डाई (लोकतन्त्र कसरी मर्छ) भन्ने किताब पढ्नुहोस् । अनि आफू र आफू नेतृत्वको सरकारले एक वर्षदेखि गरेका कामहरूसँग मूल्यांकन गर्नुहोला’, सांसद खनालले भने ।
‘हाउ डेमोक्र्यासिज् डाई’ भन्ने किताब अमेरिकी लेखक स्टिभन् लेभिट्स्की र ड्यानिएल जिब्लाटले लेखेका हुन् ।
२०१८ मा प्रकाशित यो किताबमा लोकतन्त्र अचानक नभई क्रमशस् क्षीण हुँदै मर्ने प्रक्रियामा जानेबारे व्याख्या गरिएको छ । प्रजातन्त्रमा शासक कसरी प्रजातन्त्र विरोधी कित्तामा पुग्न सक्दछ भन्ने औंल्याएको छ ।
ऐतिहासिक अवस्थालाई तत्कालिन समयसँग तुलना गर्दै जनताले नै चुनेका नेताबाट संस्थागत नियम, प्रेस स्वतन्त्रता, र विपक्षीको सम्मान क्रमशस् कमजोर पार्ने प्रवृति केलाइएको छ ।
नीति नियम बदल्दै, प्रेस स्वतन्त्रता खोस्दै, विपक्षीको अस्तित्व क्रमश: कमजोर पार्दै जनताबाट चुनिएको नेता नै लोकतन्त्र विरोधी कार्यमा संलग्न हुने खतरा किताबमा औंल्याइएको छ ।
लोकतन्त्रको मृत्युको कारण तानाशाहीको स्पष्ट घोषणाबाट नहुने ख्याल गर्न सुझाइएको छ । जननिर्वाचित शासकले सानो–सानो प्रयास गर्दै विधि आफू अनुकुल बनाउँदै लगेर नागरिक समाज र प्रेस लाई नियन्त्रण गर्दै अगाडि बढ्न सक्ने र यस्तो प्रवृतिले लोकतन्त्र मार्दै लैजाने भनेर केलाइएको छ ।
यो किताब पढेर आफू र आफू नेतृत्वको सरकारको कामको मूल्यांकन आफैँ गर्न रास्वपाका सांसद खनालले प्रधानमन्त्री ओलीलाई सुझाएका हुन् ।
सांसद खनालले भनेका छन्, ‘आज लोकतन्त्रमाथि सबैभन्दा ठूलो खतरा सैन्य कू होइन निर्वाचित नेताहरू हुन् जसले बिस्तारै विधिको शासनलाई भत्काउँछन् ।’
लोकतन्त्रलाई खतरा बढदै गरेका चारवटा संकेतहरू देखा परेको उनको व्याख्या छ ।
१. लोकतान्त्रिक प्रक्रिया र नियमहरूलाई नमान्ने : संविधानलाई कमजोर पार्ने : संविधानका प्रावधानहरूलाई बेवास्ता गर्ने वा त्यसको मर्यादा घटाउने ।
२. राजनीतिक विरोधीहरूको वैधानिकतालाई अस्वीकार गर्ने : विपक्षीहरूलाई वैध नमान्ने । राजनीतिक प्रतिद्वन्द्वीहरूलाई दुश्मनको रूपमा चित्रण गर्ने। असहमतिलाई अवैध ठहर्याउने । असहयोग गर्यो भन्ने । छलफल नगर्ने ।
३. हिंसालाई सहन वा प्रोत्साहन गर्ने : हिंसात्मक कार्यहरूलाई मौन समर्थन गर्ने वा उक्साउने ।
४. नागरिक स्वतन्त्रतालाई नियन्त्रण गर्न तत्परता : प्रेस स्वतन्त्रता वा प्रदर्शन गर्ने अधिकारमाथि प्रहार गर्ने ।
‘योसँगै जब भ्रष्टाचार र विचौलिया को संरक्षण गर्ने सरकार रहन्छ, त्यसले मुलुक र लोकतन्त्रलाई दुर्घटनामा लग्दछ’ सांसद खनालले भने ।
रास्वपाले विगत दुई महिनाभन्दा लामो समय देखि ‘भिजिट भिसा’ प्रकरणमा उच्चस्तरीय छानबिनको माग राखेर संसद्को कामकारबाही बहिष्कार गर्दै आएको छ । यसबीचमा पनि सरकारको कामकारबाही ख्याल गरिरहेको खनाल बताउँछन् ।
‘‘ आन्दोलित भैराख्दा, “लिचिबारी” बेच्ने अडियो टेप आयो, पासपोर्टको छपाईमा भागबण्डा भएको खबर बाहिरियो, कुलिङ पिरियडको बदमासी को जिम्मेवारी लिनु पर्ने निष्कर्ष निस्कियो र पनि संसद मौन छ र उल्टै विपक्षीको आवाजलाई निस्तेज पार्न प्रयास भइरहेको छ’, खनालले भने ।
केही दिनअगाडि एयरपोर्टको अध्यागमनमा गृह मन्त्त्रालयका कर्मचारीले अझै घुस लिइरहेको सूचना प्रहरीकहाँ पुगेको तर, गृहमन्त्रीलाई अप्ठेरो पर्छ भनेर छानबिन अगाडि नबढेको उनको आरोप छ ।
यी कार्य समेत लोतन्त्र मास्ने प्रवृत्ति भएको खनालको टिप्पणी छ ।
‘लोकतन्न्त्र मास्न खोज्नेहरू आफू अनुकुलका निर्वाचन कानुन बनाउँछन, न्यायपालिका को स्वतन्त्रलाई कुष्ठित पार्छन्, कार्यकारी अधिकार बलियो बनाउँछन, मिडियामाथि नियन्त्रण गर्न खोज्छन’ खनाल भन्छन्, ‘अझै प्रधानमन्त्री ज्यू भन्नुहुन्छ- लोकतन्त्र विरोधि शक्तिहरु संसद अवरुद्ध गरिराखेका छन् ।’
अरूमाथि प्रश्न उठाउनु अगाडि आफ्नो व्यवहार हेर्न सांसद खनालले प्रधानमन्त्री ओलीलाई सुझाएका हुन् । प्रधानमन्त्री ओलीलाई सांसद खनालको प्रश्न छ, ‘हामी त सुशासन होस, छानबिन होस, भ्रष्टाचारीहरु मन्त्रीको पदमा बहाल नरुहुन भन्ने चाहन्छौ । तपाई के चाहनुहुन्छ ?’