ईन्द्र बानियाले पाए विश्वासकाे मत, पक्षमा ६३ सांसद

बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले विश्वासको मत पाएका छन् । उनले मंगलबार साँझ बागमती प्रदेश सभाको बैठकमा विश्वासको मत पाएका हुन् ।

१ सय १० सदस्यीय बागमती प्रदेश सभामा बानियाँका पक्षमा ६३ मत परेको हो । नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनका तत्कालिन संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामालाई प्रदेश संसदीय दलमा हराउन सफल भएपछि बानियाँ साउन २० गते मुख्यमन्त्री बनेका थिए ।

निवर्तमान मुख्यमन्त्री सिंह लामा पक्षधरका असन्तुष्ट १४ सांसदले विश्वासको मत नदिने हुन् कि भन्ने आशंका थियो । तर, कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनपछि असन्तुष्ट पक्ष पनि बानियाँका पक्षमा उभिएको हो । प्रदेश सभामा सबैभन्दा ठूलो दल कांग्रेसको ३७ र साझेदार एमालेका २७ सभासद् छन् ।

प्रदेशसभामा प्रमुख प्रतिपक्षी नेकपा माओवादीका २१, राप्रपाका १३ (सभामुख सहित), नेकपा एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् ।