नेप्सेमा गिरावट जारी, कारोबार रकम पनि घट्यो

बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ । पछिल्ला दुई कारोबार दिनदेखि घटेर बन्द भइरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

यस दिन नेप्से परिसूचक १०.५० अंक घटेर २७८५.७४ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.६१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६५ अंक घटेको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ६ अर्ब ९१ करोडको सेयर खरिदबिक्री भएको बजारमा ३२१ स्टकको ७० हजार ९९ पटकको कारोबारमा ६ अर्ब १६ करोड १८ लाख ९४ हजार रुपैयाँबराबरको १ करोड ५८ लाख ४७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

यस दिन माया खोला हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ५.७४ प्रतिशत बढेको छ। त्यस्तै, सानिमा लार्ज क्याप फण्डको इकाइ मूल्य करिब साढे ४ प्रतिशत बढेको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ । १०.२५ प्रतिशत केबीएल डिबेञ्चरको मूल्य सर्वाधिक ९.४८ प्रतिशत घटेको छ। कारोबारमा आएको सिक्लेस हाइड्रोपावरको सेयरमूल्य यस दिन ७ प्रतिशतभन्दा बढी घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन बलेफी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३४ करोड ११ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, युनाइटेड मोदी हाइड्रोपावरको करिब साढे २७ करोडको सेयर किनबेच भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम २४ करोड नाघेको छ ।

१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक बढेको छ । विकास बैंक, वित्त, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य बढेको हो । व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.५० प्रतिशत घटेको छ। बाँकी घटेका उपसमूहहरुको गिरावटदर भने १ प्रतिशतभन्दा कम रहेको छ ।