सानिमा जीआईसीको नाफा र ईपीएससँगै आम्दानी पनि बढ्यो

काठमाडौं । सानिमा जीआईसी इन्स्यारेन्सले गत आर्थिक वर्ष (आव) को चौथो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । उक्त वित्तीय विवरणअनुसार कम्पनीको नाफा र ईपीएससँगै आम्दानी पनि बढेको हो ।

कम्पनीले गत आवको असार मसान्तसम्म ३५ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ जुन कम्पनीले अघिल्लो आवको यसै अवधिमा कमाएको ३१ करोड ८१ लाख रुपैयाँको तुलनामा १०.१३ प्रतिशत बढी हो ।

त्यसैगरी गत आवमा कम्पनीले २ अर्ब ५४ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरको हो । अघिल्लो आवमा कमाएको २ अर्ब ५१ करोड रुपैयाँको तुलनामा १.३३ प्रतिशतले बिमाशुल्क आर्जन बढेको छ ।

यता कम्पनीको बिमाकोष अघिल्लो वर्ष ३ अर्ब ३० करोड रुपैयाँ रहेकोमा गत वर्ष २२.२९ प्रतिशतले बढेर ४ अर्ब ४ करोड रुपैयाँ नाघेको वित्तीय विवरणले देखाएको छ ।

गत वर्ष कम्पनीको कुल आम्दानी १ अर्ब ४३ करोड रुपैयाँबाट बढेर १ अर्ब ४७ करोड रुपैयाँ पुग्दा कुल खर्च भने ९९ करोड ६७ लाख रुपैयाँबाट घटेर ९७ करोड ६३ लाख रुपैयाँमा झरेको छ ।

कुल खर्च घटे पनि कम्पनीको अभिकर्तालाई दिने कमिसन भने बढेको देखिएको छ । अघिल्लो वर्ष कम्पनीले अभिकर्ता कमिसनमा ३ करोड ७२ लाख रुपैयाँ खर्चिएकोमा गत वर्ष भने ४ करोड ४३ लाख रुपैयाँ खर्चिएको छ ।

त्यसैगरी कम्पनीको प्रतिसेयर आम्दानी पनि १५.९१ रुपैयाँबाट बढेर १६.३० रुपैयाँ पुग्दा प्रतिशेयर नेटवर्थ १५२.१२ रुपैयाँ कायम भएको छ । चुक्ता पुँजी २ अर्ब १५ करोड रहेको कम्पनीको महाविपत्ति कोषमा ४ करोड ६४ लाख, जगेडा कोषमा १८ करोड ३२ लाख र अन्य इक्विटीमा १३ करोड १० लाख रुपैयाँ छ ।