हिमालयन लाइफ इन्स्योरेन्सको नाफा ६३ करोड ३८ लाख

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ५४ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यद्यपि कम्पनीले अघिल्लो आवको चौथो त्रैमाससम्म कमाएको खुद नाफा ६३ करोड ३८ लाख रुपैयाँको तुलनामा भने गत आवको खुद नाफा १३.७१ प्रतिशत कम हो ।

नाफा घटे पनि कम्पनीको व्यवसायमा भने वृद्धि देखिएको छ । अघिल्लो वर्ष १६ अर्ब १९ करोड रुपैयाँ खुद बिमाशुल्क कमाएको कम्पनीले गत वर्ष ६.६० प्रतिशतको वृद्धि गर्दै १७ अर्ब २६ करोड रुपैयाँ खुद बिमा शुल्क कमाएको छ ।

अघिल्लो वर्ष कम्पनीको जीवन बिमा कोष ६४ अर्ब ३९ करोड रुपैयाँ रहकोमा गत वर्ष १९.४८ प्रतिशतको वृद्धिसहित ७६ अर्ब ९४ करोड रुपैयाँको बिमा कोष खडा गर्न सफल भएको छ ।

अघिल्लो वर्ष करिब ६ अर्ब रुपैयाँको कुल दाबी भुक्तानी दिएको यस कम्पनीले गत वर्ष २२.४३ प्रतिशतको वृद्धिसहित ७ अर्ब ३३ करोड रुपैयाँको दाबी भुक्तानी बिमितलाई दिएको छ ।

यस कम्पनीको कुल आम्दानी २२ अर्ब ६८ करोड रुपैयाँबाट १२ प्रतिशतले बढेर २५ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ भने त्योसँगै कुल खर्च पनि २२ अर्ब ४ करोड रुपैयाँबाट ८.१२ प्रतिशतले बढेर २३ अर्ब ८३ करोड रुपैयाँ पुगको छ ।

कम्पनीले अभिकर्तालाई दिने कमिशन पनि १ अर्ब ३८ करोड रुपैयाँबाट ५.५९ प्रतिशतले बढाएर १ अर्ब ४६ करोड रुपैयाँ पुर्याएको छ। यता कम्पनीको प्रतिशेयर आम्दानी ७.९० रुपैयाँबाट सामान्य घटेर ५.९८ रुपैयाँमा झरेको छ भने प्रतिशेयर नेटवर्थ १११.२० रुपैयाँ कायम भएको छ ।

चुक्ता पुँजी ८ अर्ब २ करोड रुपैयाँबाट १४ प्रतिशतले बढेर ९ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । कम्पनीको महाविपत्ति कोषमा ४६ करोड ५९ लाख रुपैयाँ र जगेडा कोषमा ७० करोड २९ लाख रुपैयाँ रहको छ ।

कम्पनीले हाल पर्याप्त मानव संसाधनको अभाव, दीर्घकालीन लगानी अवसरको कमी र बजारमा बढ्दो प्रतिस्पर्धाजस्ता चुनौतीको सामना गरिरहेको बताएको छ ।