पियोर इनर्जीको नाफा ३ करोड १९ लाख, भदौ २४ गते साधारणसभा

काठमाडौं । पियोर इनर्जी लिमिटेडले गत आर्थिक वर्ष २०८१\८२ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरणअनुसार आर्थिक वर्ष २०८१\८२ मा कम्पनीले ३ करोड १९ लाख ७९ हजार रुपैयाँ खुदनाफा कमाएको छ।

अघिल्लो आवको यसै अवधिमा कम्पनी १ करोड ७५ लाख खुद घाटामा थियो । यस अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी १९.२३ प्रतिशतले बढेर २५ करोड ९२ लाख पुगेको छ । कम्पनीले १ करोड ५१ लाखको अन्य आम्दानी पनि गरेको छ। विद्युत बिक्रीको आम्दानी बढेकोको कारण कम्पनीको नाफामा गएको देखिन्छ ।

हालै आईपीओ निष्काशन गरेपछि कम्पनीको चुक्ता पुँजी ८० करोड पुगेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४.७० रुपियाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १००.४८ रुपैयाँ रहेको छ ।

पियोर इनर्जी गोल्यान ग्रुपअन्तर्गतको सोलार कम्पनी हो । कम्पनीले बाँकेमा १० मेगावाटको दुई वटा सोलार आयोजना सञ्चालन गरिरहेको छ । दुवै आयोजनाले २०८० सालदेखि नै व्यापारिक उत्पादन गरिरहेका छन् । २० मेगावाट क्षमतासहित पियोर इनर्जी हालसम्म सबैभन्दा धेरै सौर्य उर्जा उत्पादन गर्ने कम्पनी हो ।

कम्पनीले भदौ २४ गते साधारणसभा आह्वान गरेको छ। कम्पनीको सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेस गर्ने आव २०८१\०८२ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने, कम्पनीको लेखापरीक्षकको प्रतिवेदनसहितको आव २०८१\०८२ को कम्पनीको वार्षिक वित्तीय विवरण (वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय विवरणसँग सम्बद्ध अनुसूचीहरु) उपर छलफल गरी पारित गर्ने , कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आव २०८२\०८३ को लागि लेखापरीक्षण समितिको सिफारिस मुताविक लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पेस हुनेछ ।

त्यस्तै, सञ्चालक समिति गठनको प्रस्ताव पनि सभामा पेस हुनेछ। कम्पनीले साधारणसभा प्रयोजनको लागि भदौ ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।