भारतीय विदेश सचिव मिश्री आज नेपाल आउँदै, नेपाल–भारत साझेदारीका विभिन्न पक्षमा छलफल

प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमणको तयारीका सन्दर्भमा नेपाल–भारत साझेदारीका विभिन्न पक्षमा छलफल गर्न विदेश सचिव मिश्री नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री आज नेपाल आउँदैछन् । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै मिश्रीको नेपाल भ्रमणबारेर जानकारी गराएको हो ।

नेपाल बसाइको क्रममा मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री आरजु राणा देउवा लगायतलाई भेट्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमणको तयारीका सन्दर्भमा नेपाल–भारत साझेदारीका विभिन्न पक्षमा छलफल गर्न विदेश सचिव मिश्री नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओली भदौ ३१ मा भारत भ्रमणमा गएर असोज १ गते फर्किनेछन् ।

परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिश्री नेपाल भ्रमणमा आउन लागेका हुन् । भ्रमणका क्रममा नेपाल र भारतका परराष्ट्र सचिवबीच नेपाल–भारत साझेदारीका विभिन्न पक्षमा छलफल हुने जनाइएको छ ।