भारतद्वारा सेनालाई ६ स्ट्राइकिङ भेहिकल, ६ घोडा र २ कुकुर उपहार
काठमाडौं । दुईदिने नेपाल भ्रमाणमा आएका भारतीय विदेशसचिव विक्रम मिश्रीले नेपाली सेनालाई ६ वटा स्ट्राइकिङ भेइकल उपहार दिएका छन् ।
नेपाली सेनाको मुख्यालय जंगीअड्डा पुगेर उनले ‘लाइट स्ट्राइकिङ भेइकल’ दिएका हुन् । जंगीअड्डाका एक उच्च सैनिक अधिकृतका अनुसार, सैन्य सामग्री हस्तान्तरण गर्ने केही अगाडिदेखि नै तयारी थियो । विदेशसचिव आएको सन्दर्भमा उनी आफैं जंगी अड्डामा पुगेर हस्तान्तरण गरेका हुन् ।
स्रोतका अनुसार, ब्रिडिङ प्रयोजनका लागि २ वटा सैनिक कुकुरसमेत उनले हस्तान्तरण गरेका छन् । सोही अवसरमा विदेशसचिव मिश्रीले ६ वटा सैनिक घोडा पनि दिएको ती अधिकृतले बताए ।
सोही अवसरमा मिश्रीले केही स्वास्थ्य सामग्रीहरु समेत हस्तान्तरण गरेका छन् । सामग्री हस्तान्तरण गर्नुअघि जंगीअड्डामा प्रधानसेनापति अशोकराज सिग्देलसँग मिश्रीले भेटवार्ता गरेका थिए ।