नेपाल रुबेलामुक्त भएको विश्व स्वास्थ्य सङ्गठको घोषणा

काठमाडौं । विश्व स्वास्थ्य संगठनले नेपालमा जनस्वास्थ्य समस्याको रूपमा रहेको रूबेला रोग निवारण भएको घोषणा गरेको छ।

यो सँगै बालबालिकाको प्राणघातक रोग रुबेला उन्मूलनमा नेपालले सफलता पाएको हो । नेपालको सफलतामा विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय प्रमाणीकरण आयोगले नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रालयलाई बधाई दिएको छ ।

सङ्गठनका दक्षिण पूर्वी एसिया कार्यालय प्रमुख डा क्याथरिना बोएह्मले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सोमबार पत्र पठाउँदै सो बधाई दिएकी हुन् । लामो समयदेखि प्रयास भइरहे पनि बालबालिकाको ज्यान लिने कारक यस रोगको उन्मूलन हुनसकेको थिएन । केही समययता नेपालले गरेको प्रगतिको मानकलाई आधार मानेर विश्व स्वास्थ्य सङ्गठनले नेपालमा रुबेला उन्मूलन भएको घोषणा गरेको हो ।

नेपालले हासिल गरेको यो उल्लेखनीय उपलब्धि खोपबाट बचाउन सकिने रोगहरू विरुद्ध दिइने खोप सेवामा गरिएको निरन्तर एवं दृढ प्रयासबाट सम्भव भएको हो।

दादुरा जस्तै देखिने रुबेला अर्थात जर्मन दादुरा, भाइरसको संक्रमणबाट हुने अति सङ्क्रामक रोग हो। यो रोगले विशेषगरी गर्भवती महिलाहरूमा जटिलता निम्त्याउँछ, जसका कारण गर्भपतन हुने, मृत शिशु जन्मिने, वा बच्चालाई जीवनभर असर पार्ने अपाङ्गता लगायतका समस्याहरु देखिन सक्छन्। तर, रूबेलालाई सुरक्षित र प्रभावकारी खोपबाट रोकथाम गर्न सकिन्छ।

‘नेपालले प्राप्त गरेको यो सफलता नेतृत्व तहको दृढ प्रतिबद्धता, स्वास्थ्यकर्मीहरुको लगनशिलता, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको निरन्तर सहयोग, स्वास्थ्यप्रति आमजनसमुदायको चासो र सहयोगको परिणाम हो। यस उपलब्धिले शिशुहरूका लागि स्वस्थ जीवनको सुरुवात र रूबेलामुक्त भविष्य सुनिश्चित गरेको छ,’ विश्व स्वास्थ्य संगठनको दक्षिण-पूर्व एसिया क्षेत्रीय कार्यालयका कार्यवाहक प्रमुख डा क्याथरिना बोहमले भनिन् । उनले दक्षिण–पूर्व एसिया क्षेत्रमा दादुरा र रूबेला निवारणका लागि क्षेत्रीय प्रमाणीकरण आयोग (Regional Verification Commission) को सिफारिसलाई स्विकृत गर्दै नेपालबाट रूबेला निवारण भएको प्रमाणित गरिन् ।