गरिबीको रेखामुनि रहेकालाई मात्रै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउनुपर्छः मन्त्री नवलकिशोर साह सुडी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले गरिबीको रेखामुनी रहेकालाई मात्रै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउनुपर्ने प्रस्ताव राखेका छन् । बुधवार बसेको सार्वजानिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उनले यस्तो प्रस्ताव गरेका हुन् ।

उनले हाल वितरण गरिरहेको तरिकाले सामाजिक सुरक्षा भत्ता दिँदा नेपालको आर्थिक स्थितिले धान्न नसक्ने बताए । उनले उच्च पदस्थ व्यक्ति र उनीहरुका परिवारलाई सामाजिक सुरक्षा भत्ता किन चाहियो ? भन्दै प्रश्न समेत गरे । विश्वको तेस्रो ठूलो अर्थतन्त्र हुन लागेको छिमेकी देश भारतले समेत मासिक ५ सय रुपैयाँ सामाजिक भत्ता दिने गरेको उनको भनाई छ ।

नेपालमा भने राजनितिक दलहरुले आफ्नो फाईदाको लागी समाजिक सुरक्षा भत्ता वृद्धिमा प्रतिष्पर्धा गर्ने गरेको उनले बताए । उनले समाजिक सुरक्षा भत्ता ४ हजार रुपैयाँको सट्टामा ६ हजार रुपैयाँ दिन पनि सकिने उल्लेख गर्दै तर उक्त भत्ता गरिबीको रेखामुनी रहेका २० प्रतिशत जनतालाई मात्रै दिनुपर्ने बताए ।