नबिल बैंकले जित्यो ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५: बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’ को उपाधि
नबिल बैंकले वातावरण संरक्षण, सामाजिक समावेशीकरण, मानव अधिकारको रक्षा, र नैतिक सुशासनको अभ्यासलाई आफ्नो रणनीतिको मुख्य हिस्सा बनाएको छ ।
काठमाडौं। नबिल बैंकले प्रतिष्ठित ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५: बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’ को उपाधि जितेको छ । बैंकिङ क्षेत्रमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त यो अवार्ड युरो मनी म्यागजिनले प्रदान गर्दै आएको छ ।
नबिल बैंकले दिगो बैंकिङका क्षेत्रमा गरेका प्रशंसनीय कार्यहरूको उच्च मूल्यांकन गर्दै यो सम्मान प्राप्त गरेको हो । बैंकले ग्राहकलाई प्रदान गर्ने सेवा, प्रविधिको प्रयोग, र दिगोपना सम्बन्धी पहलकदमीलाई आधार मानेर यो अवार्ड दिइएको हो । यो अवार्डलाई बैंकिङ क्षेत्रको गुणस्तर र विश्वसनीयताको अन्तर्राष्ट्रिय मापदण्ड मानिन्छ ।
बैंकले विगत पाँच वर्षदेखि नेपालको दिगो विकास लक्ष्य (एसडीजी) लाई आत्मसात गर्दै आफ्नो कार्यप्रणालीमा वातावरणीय, सामाजिक, र सुशासनका सिद्धान्तहरूलाई प्राथमिकता दिँदै आएको छ । नबिल बैंकले वातावरण संरक्षण, सामाजिक समावेशीकरण, मानव अधिकारको रक्षा, र नैतिक सुशासनको अभ्यासलाई आफ्नो रणनीतिको मुख्य हिस्सा बनाएको छ । यसका अतिरिक्त, बैंकले कार्बन फुटप्रिन्ट कम गर्ने, जिम्मेवार बैंकिङलाई प्रवर्द्धन गर्ने, र वित्तीय साक्षरता विस्तार गर्ने जस्ता कार्यमा पनि सक्रियता देखाएको छ ।
नबिल बैंकले यसअघि पनि सन् २०१०, २०२०, २०२१, २०२२, र २०२४ मा विभिन्न विधामा युरो मनी अवार्ड फर एक्सिलेन्सबाट सम्मानित भइसकेको छ ।