मासु प्रशोधन उद्योगले साउनमा ह्वात्तै बढायो एफडीआई, पुग्यो पौने ६ खर्ब प्रतिवद्धता

काठमाडौं । साउन महिनामा भैँसीको मासु प्रशोधन उद्योग खोल्न २० अर्ब रुपैयाँ बराबरको चिनियाँ लगानी स्वीकृत गरेसँगै प्रत्यक्ष वैदेशिक लगानी ह्वात्तै बढेको छ । 

उद्योग विभागले साउनमा भैँसीको मासु प्रशोधन उद्योग खोल्न २० अर्ब रुपैयाँ बराबरको चिनियाँ लगानी स्वीकृत गरेको थियो । भैंसीको मासु प्रशोधन उद्योग खोल्ने विषयलाई प्रधानमन्त्री केपी शर्मा ओलीले समेत निकै महत्व दिएका थिए । मासु प्रशोधन उद्योगमा प्रतिबद्धता अनुसारको लगानी आए नेपालबाट ठूलो मात्रामा भैँसीको मासु निर्यात हुनेछ । 

चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो महिना (साउन) मा १२७ (साना १२५ र ठूला २) उद्योगका लागि २४ अर्ब १० करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृत भएको छ । 

उद्योग विभागका अनुसार साउनमा अटोमेटिक रुटबाट ८१ र अप्रुभल रुटबाट ४६ उद्योग दर्ता भएका छन् । अटोमेटिक रुटबाट आउने लगानी प्रतिबद्धता साना उद्योगमा केन्द्रित छ भने ति उद्योगमा ७३ करोड ३० लाख रुपैयाँको प्रतिवद्धता आएको छ ।

साउनमा आएको लगानी प्रतिबद्धतामध्ये कृषिमा सबैभन्दा बढी छ । कृषिमा कुल ३ उद्योगमा २० अर्ब बराबर लगानी प्रतिबद्धता प्राप्त भएको छ । संख्याका आधारमा भने सूचना प्रविधिमा ७१ र पर्यटनमा ४१ उद्योग दर्ता भएका छन् । त्यसबाहक सेवा, उत्पादनमूलक र ऊर्जा क्षेत्रमा लगानी प्रतिबद्धता आएको देखिन्छ ।

अप्रुभल रुटबाट ४६ उद्योग दर्ता भएकोमा २३ अर्ब ३७ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । साउनमा दर्ता भएका उद्योग सञ्चालन भएमा ८ हजार २ सय ६८ जनालाई रोजगारी दिनेछन् ।

२०८२ साउनसम्म नेपालमा ६ खर्ब ७५ अर्ब ५२ करोड ७१ लाख रुपैयाँ एफडीआई प्रतिबद्धता आएको छ । त्यसका लागि ७ हजार ३ सय ६६ उद्योग दर्ता भएका छन् ।