राजनीतिक दलहरूकाे असहमतिबीच प्रतिनिधिसभामा भूमि र शिक्षा विधेयक

काठमाडौं । शिक्षा र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी संसदीय समितिको प्रतिवेदन प्रतिनिधिसभा संसदमा पेस भएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले भूमिसम्बन्धी विधेयकको प्रतिवेदन पेस गरेकी हुन् ।

विधेयकमा प्रचलित कानुनबमोजिम घरजग्गा व्यवसाय गर्न अनुमति प्राप्त कम्पनीहरुले हदभित्रको जग्गा विकास गरी घडेरीमा घर वा अपार्टमेन्ट निर्माण गरी बिक्री गर्न सक्ने व्यवस्था उल्लेख गरिएको उनले बताए ।

त्यस्तै, भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोवासीलाई व्यवस्थित गर्नसमेत कानुनी व्यवस्थाका साथ विधेयकलाई अघि बढाइएको सभापति थापाले जानकारी दिए ।

यसअघि बिहीबार बसेको समिति बैठकले उक्त विधेयकलाई पारित गरेको थियो । विधेयकमा माओवादी र रास्वपा सांसदहरुले असहमति जनाएका थिए ।

त्यसैगरी, विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी शिक्षा समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस भएको छ । बैठकमा शिक्षा समितिका सभापति अम्मरबहादुर थापाले विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन पेस गरेका हुन् ।

समितिले सरोकारवालाहरुको माग, सरकारले शिक्षकहरुसँग गरेको सहमतिमा समेत छलफल गरेर प्रतिवेदन तयार पारिएको उनले बताए ।

सभापति थापाले विद्यालय शिक्षाका क्षेत्रमा रहेका विषयलाई नवीनता दिनका लागि अधिकतम प्रयास गरेको उनको भनाइ छ । उनले विद्यार्थीको शिक्षा पाउने अवसरबाट वञ्चित हुन नदिन र शिक्षा क्षेत्रको गुणस्तर कायम गर्न खोजिएको पनि धारणा राखे ।

सभापति थापाले विधेयकमाथिको छलफलका क्रममा निकै दबाब आए पनि मुलुकको शिक्षा क्षेत्रको सुधारका लागि दबाबलाई बेवास्ता गर्दै अन्तिम प्रतिवेदन पारित गर्न सफल भएको जिकिर गरे ।

तर शिक्षक महासंघसँग भएकाे सहमति अनुसार विद्यालय शिक्षा विधेयक नआएकाे भन्दै आन्दाेलनका कार्यक्रम सावजनिक गरेकाे छ भने निजी विद्यालयहरूका संगठनहरूले पनि असहमति जनाएर विराेधका कार्यक्रम जनाइरहेका छन् ।