महँगीदर घटेपछि वार्षिक औसत मूल्यवृद्धि ४.०६ प्रतिशत मात्र

काठमाडौं- आर्थिक वर्ष २०८१/८२ मा नेपालमा महँगी घट्दै वार्षिक औसत उपभोक्ता मूल्यवृद्धि ४.०६ प्रतिशतमा झरेको छ ।

अघिल्लो वर्ष यो ५.४४ प्रतिशत थियो । राष्ट्र बैंकका अनुसार असार महिनामा मूल्यवृद्धि २.२० प्रतिशत मात्र देखिएको छ । जुन गत वर्षको सोही महिनाको भन्दा ३.५७ प्रतिशत कम हो ।

तरकारीको मूल्य १०.७१ प्रतिशत, घ्यू तथा तेल ८.७२ प्रतिशत, दाल तथा गेडागुडी ७.९० प्रतिशत र समग्र खाद्य तथा खाद्यजन्य पदार्थ ६.१३ प्रतिशतले बढेको छ । तर मरमसला २.६२ प्रतिशत र माछामासु ०.३४ प्रतिशतले घटेको छ ।

खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत मूल्यवृद्धि ४.६९ प्रतिशत मात्र रह्यो, जुन अघिल्लो वर्ष ६.४७ प्रतिशत थियो । असार महिनामा मूल्यवृद्धि ऋणात्मक १.१९ प्रतिशतमा झरेको छ ।

विविध वस्तु तथा सेवा ९.३९ प्रतिशत, कपडा तथा जुत्ताचप्पल ६.०९ प्रतिशत, मदिराजन्य पेय ५.६५ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरण ४.७८ प्रतिशत र सुर्तीजन्य पदार्थ ४.३७ प्रतिशतले महँगिएका छन् । यस समूहको वार्षिक औसत मूल्यवृद्धि ३.७१ प्रतिशतमा सीमित रह्याे ।

काठमाडौं उपत्यका ३.७७ प्रतिशत, तराई ४.१४ प्रतिशत, पहाड ३.८६ प्रतिशत र हिमाल ४.८९ प्रतिशत मूल्यवृद्धि देखियो। असारमा विन्दुगत हिसाबले उपत्यका २.३२ प्रतिशत, तराई १.८५ प्रतिशत, पहाड २.१९ प्रतिशत र हिमाल ३.७५ प्रतिशत मा सीमित भयो ।

ग्रामीण क्षेत्रको वार्षिक औसत मूल्यवृद्धि ४.४० प्रतिशत र सहरी क्षेत्र ३.९४ प्रतिशत रहेको छ । असार महिनामा ग्रामीण क्षेत्रमा २.४० प्रतिशत र सहरी क्षेत्रमा २.१४ प्रतिशत मूल्यवृद्धि देखियो ।