२७ खर्ब विदेशी मुद्रा सञ्चितिले १८ महिनाको आयात धान्ने, दोब्बरले बढ्यो खुद बैदेशिक सम्पत्ति

विदेशी मुद्रा सञ्चितिमा भारतयीय मुद्राको अंश २३.१ प्रतिशत

२०८२ असारमा मुलुकको वैदेशिक सम्पत्ति २९ खर्ब २९ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ भने दायित्व २१ खर्ब ४६ अर्ब ४३ करोड रुपैयाँ छ ।

काठमाडौं । नेपालको विदेशी मुद्रा सञ्चिति २०८२ असारमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । यो सञ्चिति २०८१ असारको २० खर्ब ४१ अर्ब १० करोडको तुलनामा ३१.२ प्रतिशतले बढी हो ।

नेपाल राष्ट्र बैंकसँग २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ भने  बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) मा २ खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ छ । २०८१ असारमा राष्ट्र बैंकसँग १८ खर्ब ४८ अर्ब ५५ करोड र बैंक तथा वित्तीय संस्थासँग १ खर्ब ९२ अर्ब ५५ करोड थियो ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.१ प्रतिशत छ ।

आर्थिक वर्ष २०८१/८२ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १८.२ महिनाको वस्तु आयात र १५.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । 

२०८२ असारमा मुलुकको वैदेशिक सम्पत्ति २९ खर्ब २९ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ भने दायित्व २१ खर्ब ४६ अर्ब ४३ करोड रुपैयाँ छ । फलस्वरूप खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति ७ खर्ब ८३ अर्ब २६ करोड रुपैयाँले बचतमा छ । जवकी २०८१ असारमा खुद वैदेशिक सम्पत्ति र दायित्वबीचको अन्तर ३ खर्ब ५ अर्ब ८४ करोड बचतमा थियो ।