आज दर खाने, ४ दिनसम्म तीजको रौनक

काठमाडौं । हरितालिका तीजको अघिल्लो दिन आज दर खाएर मनाइँदै छ । दर खाने दिन परिवार, इष्टमित्र र छिमेकी भेला भएर विभिन्न परिकार खाँदै रमाइलो गर्ने चलन छ । दर खाएको भोलिपल्ट तीजको दिन निराहार व्रत बस्ने चलन भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएको खानेकुरा खाने चलन छ ।

हरितालिका तीजको अघिल्लो दिन एक दिन मात्र दरखाने परम्परा रहे पनि राजधानी काठमाडौंलगायतका शहरी क्षेत्रमा एक महिना अघिदेखि नै दर खाने र खुवाउने चलन छ । साथै विभिन्न संघसंस्था र कार्यालयहरुले तीज मिलन कार्यक्रम गर्ने चलन पनि चलेको छ ।


तीजको दरमा के खाने ?

– दरमा धेरै चिल्लो पदार्थ प्रयोग गर्नु हुदैन,

–दर आफ्नो शरीरलाई चाहिने मात्रै खानुपर्छ,

–दरमा विभिन्न परिकारसँगै सलादको मात्रा पनि धेरै राख्नुपर्छ,

–सामुहिक रुपमा दर खादा फुड पोइजन हुनसक्ने भएकाले सचेत हुनुपर्छ,

–दरसँग अल्कोहल पीउनु हुँदैन ।

यस्ता कुराहरु ख्याल गरेर दर खाएमा तीजको दिन तपाई आरामसँग व्रत बस्न र नाचगाँन गर्न सक्नुहुन्छ । तर व्रत बस्दा र दर खादा दिर्घ रोगक बिरामीले विशेष ध्यान दिनुपर्छ ।

परापूर्व कालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ विवाहित महिलाहरु पतिको सुवास्थ्य र दीर्घायूको कामना गर्दै तथा अविवाहिताहरु सुयोग्य बर पाउने कामना गर्दै तीजको व्रत बसी शिवको पूजा गर्ने चलन छ । तीजको दिन काठमाडौंको पशुपति लगायतका देशभरका शिवालयहरुमा व्रतालुको घुइँचो लाग्दछ ।

पूजाआजा पछि महिला र पुरुषहरु भेला भएर तीजको गीत गाउँदै नाच्ने चलन पनि छ । आज दरखाने दिनदेखि तीजको रौनक सुरु हुन्छ । पहिलो दिन आज सोमबार व्रतालु महिलाले दर खान्छन् भने दोस्रो दिन मंगलबार तीजको मुख्य दिन हो । यस दिन व्रतालुले निराहार व्रत बसेर भगवान् शिवको पूजाआराधना गर्छन् ।

बुधबार गणेश चौथी पर्व मनाइन्छ । अन्तिम दिन बिहीबार अरुन्धतीसहित सप्तऋषिको पूजाआराधना गरेपछि चारदिने तीज पर्व समापन हुन्छ ।