आज हरितालिका तीज, महिलाहरुलाई सार्वजनिक विदा

विश्वभर रहेका नेपाली हिन्दू महिलाहरूले मनाउने महत्वपूर्ण पर्व हरितालिका तीज आज श्रद्धा र उल्लासका साथ मनाइँदै छ । हिन्दू पात्रोअनुसार भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा विशेषगरी भगवान् शिवलाई प्रसन्न पार्न व्रत बस्ने र पार्वतीसहित उनको पूजाआराधना गर्ने परम्परा रहेको छ ।

नेपालमा हिन्दु महिलाहरुलाई आज सार्वजनिक विदासमेत दिने गरिएको छ । तिजका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, पूर्वप्रधानमन्त्रीहरु लगायत राजनीतिक दलका नेताहरुले शुभकामनासमेत दिएका छन् ।

सत्य युगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकी कथा छ । त्यसैले आजको दिन निराहार व्रत बसेर विधिपूर्वक शिवपार्वतीको पूरा गरे मनोकामना पूरा हुने विश्वास छ । यही विश्वासका साथ व्रतालुहरुको आज बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायतका शिवालयहरुमा घुइँचो लागेको छ ।

यो व्रत सक्नेले निराहार बस्ने भएकाले अघिल्लो दिन व्रतालुहरुले मीठा मीठा परिकार दरका रुपमा खाई आजको व्रतका लागि पूर्व तयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् ।

तीजको अवसरमा महिलाहरुले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई गीतका माध्यमबाट सार्वजनिक पनि गर्दछन् । उनीहरु भेला भएर नाचगान गर्दछन् ।

हिजो सोमबार दर खाएर औपचारिक रुपमा शुरु भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।