सहुलियतपूर्ण कर्जासम्बन्धि कार्यविधि संशोधन, पशुपन्छीमा समेत पाँच करोड कर्जा

सहुलियतपूर्ण कर्जा किस्तावन्दीमा भुक्तानी हुने आवधिक प्रकृतिको हुनेछ । एक पटक स्वीकृत भएको सहुलियतपूर्ण कर्जाको सीमा पुनः वृद्धि गर्न पाइने छैन ।

सरकारले सहुलियतपूर्ण कर्जासम्बन्धि कार्यविधिलाई संशोधन गरेको छ ।

संशोधित कार्यविधिमा बैंक तथा वित्तिय संस्थाहरुले प्रदान गर्ने सहुलियतपूर्ण कर्जालाई सहजीकरण गरिएको छ भने कतिपय कर्जाको सीमा वृद्धि गरिएको छ । संशोधित कार्यविधि नेपाल राष्ट्र बैंकले स्वीकार गरि बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएपछि मात्रै कार्यान्वयनमा आउने छ ।

सरकारले हाल १० क्षेत्रको कर्जामा ५ देखि ६ प्रतिशतसम्म ब्याज अनुदान दिँदै आएकोमा अब विभिन्न ८ शीर्षकको कर्जामा ३ प्रतिशतसम्म ब्याज अनुदान दिने गरी नयाँ कार्यविधि स्वीकृत गरेको हो । यसैगरी, सरकारले महिला उद्यमशीलता कर्जामा ६ प्रतिशत र ५ करोडभन्दा माथिको व्यावसायिक कृषि तथा पशुपन्छी कर्जामा २ प्रतिशतमाथि अनुदानको व्यवस्था रहेको कार्यविधि खारेज भएर अब सबै कर्जामा ३ प्रतिशत ब्याज अनुदान दिने जनाएको छ ।

यसअघि व्यवसायीक कृषिलाई मात्रै दिइने गरिएको पाँच करोड रूपैयाँसम्मको कर्जा अब कृषि तथा पशुपन्छी दुबै क्षेत्रमा दिन बाटो खोलिएको छ । त्यस्तै, महिला उद्यमशील कर्जालाई कार्यविधि संशोधन गरेर पच्चीस लाख रूपैयाँसम्म पुर्याइएको छ । वैदेशिक रोजगारबाट फर्केका युवा स्वरोजगार बन्न चाहेमा अब सरकारले २० लाख रुपैयाँसम्म कर्जा दिनेछ ।

शिक्षित युवा परियोजना कर्जालाई २० लाख रूपैयाँसम्म पुर्याइएको छ भने दलित समुदाय भगत सर्वजित उद्यम विकास कर्जालाई समेत २० लाख रूपैयाँसम्म पुर्याइएको छ ।

त्यस्तै, संशोधित कार्यविधि अनुसार स्टार्टअप उद्यम कर्जाको सीमा पच्चीस लाख रुपैयाँसम्म पुर्याइएको छ । उद्योगमा बोइलर प्रतिस्थापन कर्जाका लागि अधिकतम २५ लाख रुपैयाँसम्म सरकारले सीमा तोकेको छ । प्राकृतिक विपद् पीडितको निजी आवास निर्माण कर्जा पाँच लाख रूपैयाँसम्म तोकिएको छ । यसअघि यस्तो व्यवस्था राखिएको थिएन ।

कार्यविधिमा भनिएको छ–सहुलियतपूर्ण कर्जा किस्तावन्दीमा भुक्तानी हुने आवधिक प्रकृतिको हुनेछ । एक पटक स्वीकृत भएको सहुलियतपूर्ण कर्जाको सीमा पुनः वृद्धि गर्न पाइने छैन । सहुलियतपूर्ण कर्जा एकाघर परिवारको एक जना भन्दा बढी सदस्यलाई प्रदान गरिने छैन । सहुलियतपूर्ण कर्जा संवत् २०८७ असारसम्म प्रदान गरिनेछ ।

पाँच वर्षसम्म ब्याज अनुदान प्राप्त हुने समय तोकिएको छ । व्याज अनुदान प्रयोजनका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाले कर्जाको प्रकार, रकम, उद्देश्य, व्यवसायको प्रकृति, प्रतिफलको अवधि र जोखिमको स्तर लगायतका आधारमा ग्रेस अवधि, किस्ता तथा कर्जा भुक्तानी अवधि निर्धारण गर्नुपर्ने व्यवस्था गरिएको छ ।




प्रकाशन भएका दस्तावेजहरू

68aed12aa381f_1756287274.pdf