इम्बोस्ड नम्बर देवनागरी लिपिमा लागू गर्न माग

काठमाडौं । रोमन लिपिको इम्बोस्ड नम्बर प्लेट खारेजीको माग गरेर काठमाडौंमा प्रदर्शन भएको छ ।

‘जाग नेपाली’ समूहले रोमन लिपिको इम्बोस्ड नम्बर प्लेटलाई राष्ट्रघातीको संज्ञा दिएको छ । उनीहरूले देवनागरी लिपिमा इम्बोस्ड नम्बर लागू गर्न माग गरेका छन् ।

देवनागरी लिपिको रक्षा गरौं, नेपाली भाषा र लिपि मेट्न पाइँदैन, इम्बोस्डका भ्रष्टाचारीलाई जेल हाल लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

सरकारले २० साउन २०८२ मा १ असोजदेखि लागु हुने गरी इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्न भनेको थियो ।

जनस्तरबाटै यसको विरोध भएपछि यातायात व्यवस्था विभागले सवारीसाधनमा तत्काल इम्बाेस्ड नम्बर प्लेट जडान नगरे पनि जरिवाना नलाग्ने मंगलबार स्पष्ट पारेको छ ।

विभागले आफूलाई अनुकूल भएकाे समयमा सवारी दर्ता गरेको कार्यालयमा गइ स्वत: स्फूर्त ढंगले इस्बोस्ड नम्बर प्लेट जडान गर्न सकिने बताएको छ ।

विभागले एक सूचना जारी गर्दै आगामी असोज १ गतेभित्र सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान नगरे दण्ड/जरिबाना लाग्ने कुरालाई निराधार भन्दै भ्रममा नपर्न आग्रह गरेको थियो ।