हाथवे इन्भेष्टमेन्ट र ४ म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । आज भदौ १२ गते बिहीबार हाथवे इन्भेष्टमेन्ट र ४ म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । हाथवे इन्भेष्टमेन्टले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ र एनएमबि ५०, एनएमबि सुलभ इन्भेष्टमेन्ट, सिटिजन्स म्युचुअल फण्ड २ र सिटिजन्स सुपर ३० ले प्रतिफल वितरण प्रयोजनार्थ भोली अर्थात भदौ १३ गते बुकक्लोज गर्दैछन् ।

त्यसकारण आजसम्म नेप्सेमा कारोबार भइ कायम हाथवेका शेयरधनीहरुले कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्नुका साथै साधारण सभामा सहभागिता जनाउन सक्नेछन् भने ४ म्युचुअल फण्डका इकाईधनीहरुले प्रतिफल प्राप्त गर्न सक्नेछन्।

हाथवेले भदौ २५ गते बुधबार आम्रपाली ब्याङ्क्वेट काठमाडौँमा बिहान १० बजे १७ औँ वार्षिक साधारण सभा बोलाएको छ । सभाले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

यता एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि ५० र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ ले गत आर्थिक वर्षका लागि १५ –१५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको छ भने सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड २ ले ८.२५ प्रतिशत र सिटिजन्स सुपर ३० म्युचुअल फण्डले १२.७५ प्रतिशत प्रतिफल वितरण गर्नेछ।