प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभा सम्बोधन गर्ने, लिपुलेकका विषयमा के भन्लान् ?
ओलीले संसद्को समेत विश्वास लिएर लिपुलेक मामिलामा चिनियाँ राष्ट्रपति सी जिन पिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रस्ट कुरा राख्ने बताएको जनाइएको छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।
बिहीबार सिंहदरबारमा सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकसँगको छलफलका क्रममा सदनमा प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी गराएका हुन् । गत भदौ ४ गते प्रनिनिधिसभामा प्रश्नोत्तर कार्यक्रम प्रधानमन्त्री ओली विरामी भएको भन्दै स्थगित भएको थियो ।
प्रधानमन्त्री ओली शनिबार चीन भ्रमणमा जाने भएकाले त्यसबारे सदनलाई जानकारी दिन सम्बोधन गर्न लागेको बताइएको छ । बिहीबार मात्रै प्रधानमन्त्री ओलीले बालुवाटारमा पार्टीका नेताहरूसँग राष्ट्रिय सहमति जुटाएर लिपुलेक मामिलामा भारत र चीनसँग प्रष्ट कुरा राख्ने बताएका थिए ।
ओलीले संसद्को समेत विश्वास लिएर लिपुलेक मामिलामा चिनियाँ राष्ट्रपति सी जिन पिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रस्ट कुरा राख्ने बताएको जनाइएको छ । केही दिनअघि भारत र चीनबीच नेपाललाई जानकारी नदिइकन लिपुलेकको बाटो व्यापार गर्ने सम्झौता गरेपछि नेपालमा विरोध भइरहेको छ ।