नेपालले जलविद्युतकाे उपयाेग गरी उत्पादन वृद्धि र गुणस्तरमा प्रतिस्पर्धा गर्न तयार हुनुपर्छः मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा जलविद्युतको अपार सम्भावना रहेको बताएका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा शुक्रबार नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायनसेस अन्तर्राष्ट्रिय प्रदर्शनीको शुभारम्भ गर्दै मन्त्री भण्डारीले विद्युतको सम्भावनासँगै विद्युतीय सामग्रीहरुको प्रयोग पनि त्यत्तिकै बढिरहेको बताए ।

‘इलेक्ट्रिक पावरको एग्जिबेसन भइरहेको छ । अहिलेको प्रविधि र सम्भावनामा यो केन्द्रित छ । नेपालमा जलविद्युतको अपार सम्भावना छ’ उनले भने, ‘उत्पादन पनि भइरहेको छ । हामीले छिमेकी मुलुकमा निर्यात गर्न सक्छौँ ।’

नेपालले विद्युत छिमेकी देशमा पनि बेच्न सक्ने र विद्युतीय सामग्रीको प्रयोग अझ बढाउन सक्ने बताए । नेपाल आफ्नो उत्पादनलाई वृद्धि गर्न र गुणस्तरमा प्रतिष्पर्धा गर्न तयार रहेको उनको भनाइ थियो ।

‘विभिन्न कम्पनीहरुले आफ्ना उत्पादनहरु प्रस्तुत गर्नुभएको छ । गुणस्तरमा प्रतिष्पर्धा भइरहेको छ । हाम्रो उत्पादनलाई वृद्धि गर्नेकुरा स्वाभाविक रूपमा हुन्छ । यसको खपत हुन्छ, यसको बजार निश्चित छ,’ उनले भने ।

मन्त्री भण्डारीले नेपालमा विद्युतको क्षेत्रमा लगानी बढाउन पनि विदेशी कम्पनीहरुलाई आह्वान पनि गरे ।