सुनको मूल्य सन् २०२६ नसकिँदै प्रतिऔंस ६ हजार डलर, नेपालमा पुग्नसक्छ प्रतितोला ५ लाख

गत शुक्रबारदेखी बिहीबारसम्मका ६ दिनमा सुनको मूल्य ४७ हजार १ सय रुपैयाँ बढिसकेको छ । बिहीबार सुनको मूल्य प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेपछि झनै चर्चा बढेको छ ।

काठमाडौं । सुनको मूल्यले यतिबेला विश्व बजार तातेको छ । अन्तर्राष्ट्रिय बजारमा एकपछि अर्को उचाइ लिएको सुनले नेपालमा पनि नयाँ नयाँ कीर्तिमान खडा गरेको छ । पछिल्लो ६ कारोबार दिन लगातार सुनको मूल्य बढिरहेको छ ।

गत शुक्रबारदेखी बिहीबारसम्मका ६ दिनमा सुनको मूल्य ४७ हजार १ सय रुपैयाँ बढिसकेको छ । बिहीबार सुनको मूल्य प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेपछि झनै चर्चा बढेको छ । बुधबार प्रतितोला ९ हजार ५ सयले बढेको सुन मंगलबार भने ३ सय रुपैयाँ मात्रै बढेको थियो । सोमबार ५ हजार २ सय, आईतबार २ हजार ४ सय रुपैयाँ र गत शुक्रबार ९ हजार २ सय रुपैयाँ प्रतितोला बढेको थियो ।

विश्वबजारमा सुनको मूल्य प्रति औंस ५ हजार डलरभन्दा माथि पुगेपछि अझै २० प्रतिशत २०२६ भित्रै बढिसक्ने अनुमान भईरहेको छ । बैक अफ अमेरिकाकाका अनुसार सन् २०२६ को अन्त्यसम्म सुनको मूल्य प्रतिऔंस ६ हजार डलरभन्दा माथि पुग्ने छ । विश्व बजारमा सुनको मूल्य ६ हजार डलर माथि पुगे नेपालमा प्रतितोला ५ लाख रुपैयाँ माथि जाने आंकलन भईरहेको छ । गोल्डम्यान स्याक्सले सन् २०२६ को अन्त्यसम्म सुन प्रतिऔंस ५ हजार ४०० हजार डलर माथि पुग्ने जनाएको थियो । तर, बहीबार त्यो मूल्यभन्दा माथि चढिसकेको छ । बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुनकोे मूल्य प्रतिऔंस २५७ डलर बढेर ५ हजार ५६२ डलर पुगेको छ । बुधबार पनि प्रतिऔंस १७५ डलर बढेको थियो ।

नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक नर बहादुर थापाका अनुसार विश्वमा अनिश्चितताको वातावरणमा कुनै सुधार नहुने हो भने सुन र अन्य बहुमूल्य वस्तुको मूल्य बढने क्रम नरोकिने बताउँछन् । आम नागरिकको लागि वैकल्पिक अवसरहरु प्रदान नहुने र व्याजदर न्यून हुँदै जाँदा मात्र सुनमा लगानी गर्ने प्रचलन हुन्छ । त्यसैले अहिले लगानीका अन्य अवसर प्राप्त नभएका कारण पैसा भएका मानिसहरुले सुनमा लगानी गरिरहेका र आम नागरिकहरु सुनको पहुचबाट टाढा रहेको थापाको भनाइ छ ।

त्यस्तै, नेपाल सुनचाँदी ब्यवसायी महासंघका पूर्व अध्यक्ष मणिक रत्न शाक्यका अनुसार नेपाली बजारमा प्रतितोला सुनको मूल्य ३ लाख रुपैया पार गरेको र अन्तर्राष्ट्रिय बजारमै तिब्र मूल्य बृद्धि भएकाले दिर्घकालमा सूनको मूल्यले थप उचाई लिने सम्भावना रहेको बताए । सुनको विकल्पमा अरु प्रकृतिक खनिज नआएको र अन्यको तुलनामा सुन विश्वासिलो र आयमुलक माध्यम भएकाले पनि सुनमा लगानी बढिरहेको शाक्यको भनाइ छ । मानिसहरुले बैकबाट पैसा झिकेर समेत सुनमा लगानी गरिरहेका छन् । त्यस्तै, केन्द्रिय बैकहरुले समेत आवश्यकता भन्दा बढी सुन किनेर राखिरहेका कारण मूल्य बृद्धि भएको छ, शाक्यले भने, केहि समय पहिले सुनका विज्ञहरुले सुनको भाउ एक तिहाइसम्म घट्छ भनेर हल्ला फिजाएका कारण मानिसहरुले घरमा भएको सुन समेत बेचे । उपभोतmाहरु सुन किन्न आउँदा समेत घटेपछि किनौंला भनेर घर फर्किए । तर, सुनको भाउ १५ दखि २० प्रतिशतसम्म बढ्ने अझै सम्भावना रहेकाले हल्लाको पछि नलाग्न शाक्यले उपभोक्तालाई आग्रह गरेका छन् । अष्टे..., चीनमा सुनखानी भेटिएको त छ तर भेटिने बितिकै सुनको मूल्य घट्ने भन्ने हुदैन किनभने सुन उत्खनन गरेर निकाल्न कति समय लाग्छ यकिन हुँदैन, शाक्यले भने, सुनको भाउ तत्काल घट्ने सम्भावना छैन र हल्ला भिजाएर बजार बिर्गान् राम्रो हँदैन ।

यद्यपि नेपाली बजारमा सुनको माग भए पनि नेपालीहरुको किन्ने क्षमतामा कमि रहेको शाक्यको भनाइ छ । आधुनिक गरगहनाको मोहले गर्दा जर्ति धेरै तिर्न पर्ने र सरकारले उपभोक्ताको भावना नबुझि सुनमा लगाएको विलासिता करले सुन मूल्य अझ धेरै बढेको बताउँदै शाक्यले भने, दशैं तिहार र विवाहको लगन भएको महिनामा समेत सुन धेरै बिक्रि नभएको र माघ फागुनमा सुन चाँदीको व्यापार बढ्छ भनेर व्यवसायीहरु आशाावादी छैनन् ।


किन बढ्छ सुनको मूल्य ?

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा हुने माग र आपूर्तिले सुनको मूल्य तय हुन्छ । जब अन्तर्राष्ट्रिय कमोडिटी बजारमा सुनको माग र आपूर्ति बढी प्रभावित हुन्छ, मूल्य पनि उच्च दरमा घटबढ हुन्छ । यतिबेला विश्व बजारमा सीमित आपूर्तिबीच सुनको माग उच्च दरले बढेका कारण मूल्यमा चाप परिरहेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अमेरिकी केन्द्रीय बैंक (फेड) को ब्याजदर, अमेरिकी डलरको प्रभुत्व कमजोर बनाउन चीनले सुनलाई महत्व दिएको, विश्वका केन्द्रीय बैंकहरूले उच्च दरले सुन खरिद बढाएको, भूराजनीतिक द्वन्द्व र आर्थिक गतिविधिमा आएको सुस्तताले सुनको बजारलाई तताईरहेको छ ।

जेपी मोर्गन ग्लोबल रिसर्चले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर नीतिका कारण अनिश्चित भएको व्यापार, विभिन्न देशबीचको युद्ध, अमेरिकी डलरको माग घटेको र केन्द्रिय बैकहरुले सुनको खरिदलाई बढाएका कारण मूल्य बढेको निष्कर्ष निकालेको छ । डलर कमजोर भयो र ब्याजदर कम भयो भने सामान्यतः सुनको मूल्य बढ्ने गर्छ । अहिले डलरको भाउ अवमूल्यन नभए पनि ब्याजदर घट्ने भएपछि सुनको मूल्य बढेको हो । रिर्पाटहरुका अनुसार विश्व बजारमा सुनको मूल्य बढ्ने अन्य कारणहरुमध्ये युक्रेन र रसिया युद्धको निरन्तरता, इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्वलाई पनि लिइएको छ । त्यस्तै केन्द्रिय बैंकसँग धनाढ्य लगानीकर्ताहरुले सुरक्षित सम्पत्तिका रुपमा लिँदै सुन किन्नका लागि होडबाजी गरिरहेका कारण मूल्य आकासिएको निष्कर्ष जेपी मोर्गनको छ ।


पाँच वर्षमा नेपालमा कतिले बढ्यो सुनको मूल्य ?

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा ठूलो उतारचढाव आएको प्रत्यक्ष असर नेपाली बजारमा पनि देखिने गरेको छ । पछिल्लो ५ वर्षको अवधिमा नेपाली बजारमा सुनको मूल्यले निरन्तर नयाँ नयाँ रेकर्ड कायम गर्दै उल्लेखनीय वृद्धि भएको देखिएको छ । सन् २०२१ को जनावरी १ मा प्रतितोला ७३ हजार ५०० रुपैयाँ रहेको सुनको मूल्य सोही वर्षको अन्त्यसम्म ९२ हजार ७०० रुपैयाँ पुगेको थियो, जुन सामान्य बजार वृद्धिभन्दा निकै माथि हो । २०२२ मा पनि यही प्रवृत्ति दोहोरिँदै जनावरी १ मा ९३ हजार ४०० रुपैयाँ रहेको सुनको भाउ डिसेम्बर अन्त्यमा १ लाख १ हजार ४०० रुपैयाँ पुग्यो । २०२३ र २०२४ मा मूल्य वृद्धिको गति अझ तीव्र बन्दै गयो । २०२३ को सुरुमा १ लाख १ हजार ७०० रुपैयाँ रहेको सुन २०२४ को अन्त्यसम्म १ लाख ४९ हजार ६०० रुपैयाँ पुग्यो । सबैभन्दा धेरै भने मूल्य बृद्धि भने २०२५ मा भएको देखिन्छ, जहाँ वर्षको सुरुमा १ लाख ५१ हजार रुपैयाँ रहेको सुनको मूल्य एक वर्षमा उछालिँदै २ लाख ६१ हजार रुपैयाँ पुगेको छ । सन् २०२६ को २९ दिनमा सुनको मूल्य प्रतितोला ७८ हजार रुपैयाँभन्दा बढीले बढिसकेको छ ।


अन्तर्राष्ट्रिय बजारमा पाँच वर्षमा कतिले बढ्यो सुनको मूल्य ?

विगत पाँच वर्षमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम गर्दै आइरहेको छ । सन् २०२१ को जनावरी १ मा प्रतिऔंस १८९३.६६ अमेरिकी डलर रहेको सुनको मूल्य वर्षको अन्त्यसम्म आइपुग्दा घटेर १८२९.०५ डलरमा सीमित भएको थियो । सन् २०२२ मा सुनको मूल्यमा खासै उतारचढाव देखिएन । २०२२ को सुरुआतमा प्रतिऔंस १८२७.४९ डलर रहेको सुन डिसेम्बरको अन्तिम दिन १८२३.९१ डलर थियो । तर, सन् २०२३ मा सुनको मूल्य उल्लेख्य रूपमा बढ्यो । जनावरी १ मा १८२३.९१ डलर रहेको सुनको मूल्य वर्षको अन्त्यमा २०६२.९० डलर पुगेको थियो । यो वृद्धि सन् २०२४ मा अझ तीव्र भयो । सन् २०२४ को सुरुआतमा प्रतिऔंस २०६२.९० डलर रहेको सुन डिसेम्बरको अन्त्यसम्म २६०६.७२ डलरमा पुगेको देखिन्छ । यसैगरी सन् २०२५ मा सुनको मूल्यले ऐतिहासिक उचाइ छोयो । जनवरी १ मा प्रतिऔंस २६२३.९६ डलर रहेको सुनको मूल्य डिसेम्बरको अन्तिम दिन ४३३९.६५ डलर पुगेको थिय । यसले अन्तर्राष्ट्रिय बजारमा सुनप्रतिको आकर्षण र लगानीकर्ताको माग तीव्र रूपमा बढेको संकेत गर्छ ।