स्मार्ट टेलिकम अनुसन्धानमा एनसेल पनि मुछियो, मुख्यालयमा प्रहरीको छापा
एनसेलमा भएको अनियमिततासम्बन्धी अध्ययन गर्न बनेको कार्यदलको प्रतिवेदनको सिफारिस र नेपाल दूरसञ्चार प्राधिकरणले गरेको पत्राचारका आधारमा एनसेलमाथि अनुसन्धान अगाडि बढाइएको र आवश्यक कागजपत्र नियन्त्रणमा लिएको बताइएको छ ।
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलको लैनचौरस्थित मुख्यालयमा छापा मारेको छ ।
गैरकानुनी रुपमा स्मार्ट टेलिकमको सामान लिलामी सकारेको आरोपमा अनुसन्धान भईरहेका बेला प्रहरीले छापा मारेको हो । एनसेलमा भएको अनियमिततासम्बन्धी अध्ययन गर्न बनेको कार्यदलको प्रतिवेदनको सिफारिस र नेपाल दूरसञ्चार प्राधिकरणले गरेको पत्राचारका आधारमा एनसेलमाथि अनुसन्धान अगाडि बढाइएको र आवश्यक कागजपत्र नियन्त्रणमा लिएको बताइएको छ ।
स्मार्ट टेलिकमले सरकारलाई बुझाउनुपर्ने बक्यौता नतिरेपछि प्राधिकरणले अनुमति पत्र खारेज गरिसकेको छ। लाइसेन्स खारेज भएको कम्पनीको पूर्वाधार र सम्पत्ति स्वतः सरकारी स्वामित्वमा आउनुपर्ने भए पनि मिलेमतोमा निजी लाभका लागि प्रयोग गर्न खोजिएको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
गैरकानुनी रुपमा स्मार्ट टेलिकमको सामान लिलामी सकारेपछि एनसेल विवादमा मुछिएको छ । त्यसअघि सेयर बाँडफाँडसम्बन्धी विवादास्पद गतिविधिका कारण एनसेल अनुसन्धानको दायरामा आएको थियो ।
स्मार्ट टेलिकम प्रकरणमा यसअघि नै नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) सँग मिलेर गैरकानुनी रुपमा सम्पत्ति लिलामी गरेको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । बुधबार मात्रै प्रहरीले एनआईएमबीका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई पक्राउ गरेको थियो ।