लगातार संकुचित बनिरहेको सेयर बजार, बलियो सरकारसँगको भरोसा टुटेको हो?
बजारलाई बलियो बनाउन ठूलो पुँजीको प्रवेश आवश्यक हुने भएकाले ठूला लगानीकर्ताको आत्मविश्वास फर्किनु अनिवार्य छ । अहिले ठूला लगानीकर्तामा देखिएको त्रासकै कारण बजारमा सेयर खरिदबिक्री सुस्ताएको देखिन्छ ।
काठमाडौं । सरकारमा करिब दुई तिहाई मतहितको बलियो एकल सरकार भएपनि नेपाली पुँजीबजार भने निरन्तर संकुचनमा गइरहेको छ । रास्वपाले सुशासन, आर्थिक समृद्धि र सबै क्षेत्रको विकासको कुरा निरन्तर गरिरहेपनि सेयर लगानीकर्ता भने सो कुरामा खासै विश्वस्त हुन सकेको देखिँदैन । बरु, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को साथमा कारोबार रकमसमेत करिब साढे २ अर्ब हाराहारीमा खुम्चिन पुगेको छ ।
पछिल्ला ४० कारोबार दिनलाई हेर्ने हो भने पनि अधिकांश दिन सेयर बजार घटेको देखिन्छ । ४० कारोबार दिन अघि अर्थात् २०८२ चैत ८ मा २९३१ बिन्दुमा रहेको नेप्से परिसूचक हाल २७३० बिन्दुमा छ । यो बीचमा नेप्से करिब २०० अंकले संकुचित बनिसकेको छ ।
पछिल्लो २० कारोबार दिनलाई मात्रै हेर्ने हो भने पनि सात कारोबार दिन नेप्से सकारात्मक बन्दा १३ दिन नकारात्मक बनेको छ । २०८२ चैत ८ मा २३ अर्ब १७ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार (जेठ ४ गते) २ अर्ब ४२ करोड रुपैयाँमा खुम्चिन पुगेको छ । यसरी बजार हरेक दिनजसो संकुचित बनेको छ भने कारोबार उतिकै न्यून हुँदै गएको छ ।
विशेषगरी निजी क्षेत्रका उद्योगी व्यवसायीमाथि अनुसन्धान, पक्राउ तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा लाग्न थालेपछि बजारले आफ्नो लय गुमाएको थियो । अझै पनि एक किसिमको त्रासको स्थितिले लगानीकर्ता बजारमा ढुक्क हुन सकेका छैनन्, फलस्वरुप बजार परिसूचकसँगै कारोबार रकम पनि निरन्तर खुम्चिँदै गएको छ ।
सेयर विश्लेषक तथा लगानीकर्ता घनश्याम पाण्डे बजारमा देखिएको लगातार गिरावटको मुख्य कारण लगानीकर्तामा आत्मविश्वासको कमी भएको बताउँछन् । उनका अनुसार राजनीतिक रूपमा बलियो सरकार बने पनि लगानीकर्ताले अपेक्षित भरोसा पाउन सकेका छैनन् जसका कारण बजार निरन्तर घटिरहेको हो ।
“लगानीकर्तामा विश्वास निर्माण हुन सकेको छैन । पछिल्ला घटनाक्रम र धडपडले बजारमा झन् त्रास बढाएको छ,” उनले भने, “बजार धेरै तल झरिसकेको छ । अब बिस्तारै फर्किने सम्भावना पनि छ,” पाण्डेका अनुसार बजार अहिले न्यून विन्दु नजिक पुगेको छ र विस्तारै सुधारको संकेत देखिन थालेको छ ।
उनले उद्योगी व्यवसायीमाथि भइरहेको अनुसन्धान तथा पक्राउका घटनाले विशेषगरी ठूला लगानीकर्तामा मनोवैज्ञानिक असर परेको उल्लेख गरे । “व्यापारीहरू पनि पुँजी बजारसँग जोडिएकै हुन्छन् । ठूला लगानीकर्ता पक्राउ पर्दा अरूले पनि आफूहरू प्रभावित हुने हो कि भन्ने त्रास महसुस गर्छन्, जसले गर्दा बजार सकारात्मक ढंगमा अघि बढ्न सकेको छैन,” उनले भने ।
यद्यपि, सर्वसाधारण तथा साना लगानीकर्ताले अत्यधिक आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ । सरकारले गलत काममाथि कारबाही गर्नु सकारात्मक विषय भएको त्यसलाई समर्थन गर्नुपर्ने उनको तर्क छ । अहिले डराएर बजारबाट बाहिरिने अवस्था नभएको र यसले बजार शुद्धिकरण गर्ने उनले बताए । साना लगानीकर्ताले मात्र बजारलाई दीर्घकालीन रूपमा माथि लैजान सक्दैनन् । बजारलाई बलियो बनाउन ठूलो पुँजीको प्रवेश आवश्यक हुने भएकाले ठूला लगानीकर्ताको आत्मविश्वास फर्किनु अनिवार्य छ । अहिले ठूला लगानीकर्तामा देखिएको त्रासकै कारण बजारमा सेयर खरिदबिक्री सुस्ताएको देखिन्छ ।
सेयर लगानीकर्ता देव गुरागाईं पनि बजार गिरावटको मुख्य कारण विगतका विकृत कारोबार सार्वजनिक हुनु र त्यसले सिर्जना गरेको त्रास रहेको बताउँछन् । उनका अनुसार नयाँ सरकार बनेपछि बजार सुधार हुने अपेक्षा गरिएको थियो । तर व्यवहारमा बजारले अपेक्षित सुधार लिन नसक्नु गम्भीर विषय बनेको छ । “यस्तो बलियो सरकार आएपछि बजारले सकारात्मक दिशा लिन्छ भन्ने विश्वास थियो । तर बजारले अपेक्षित सुधार लिन नसक्नु गम्भीर विषय हो,” उनले भने ।
गुरागाईंका अनुसार सरकार गठनअघि बजारमा विभिन्न प्रकारका अस्वाभाविक तथा विकृत कारोबार हुने गरेका थिए । अहिले ती गतिविधि अनुसन्धानको दायरामा आउन थालेपछि ठूलो कारोबार गर्ने समूह त्रसित बनेको छ । सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित विषयहरू अगाडि आएपछि ठूलो रकम परिचालन गर्नेहरू तर्सिएका छन् । अहिले बजारमा मुख्य समस्याको रुपमा ठूलो पुँजीको अभाव रहेको पाउन सकिन्छ ।
“साना लगानीकर्ताले मात्र बजारलाई माथि लैजान सक्दैनन् । ठूलो रकम बजारमा प्रवेश नगर्दासम्म कारोबारको आकार बढ्दैन,” उनले भने, “कारोबारको आकार नबढ्दा बजारमा उत्साह देखिँदैन । त्यसैले बजार फैलिन र मजबुत बन्न समय लागेको हो ।” उनका अनुसार कारोबार रकम कम हुँदा बजारको गति पनि सुस्त बनेको छ ।
गुरागाईंले प्राथमिक सार्वजनिक निष्कासन, हकप्रद सेयर तथा बोनस सेयरका कारण बजारमा सेयर संख्या बढेको विषयलाई पनि बजार दबाबको एउटा कारणका रूपमा चर्चा गरिए पनि मुख्य समस्या भने लगानीकर्तामा देखिएको त्रास नै भएको बताए ।
अहिलेको त्रासको अवस्था स्थायी नभएको दाबी गर्दै केही समयपछि बजारले पुनः लय समात्ने उनको विश्वास छ । “यो अवस्था धेरै लामो समय रहँदैन । विस्तारै परिस्थितिहरू सामान्य बन्दै गएपछि बजारले फेरि आफ्नो गति समात्छ,” उनले भने । उनका अनुसार आगामी बजेटमार्फत संस्थागत लगानीकर्तालाई आकर्षित गर्ने नीति, कर सहुलियत तथा बजारमैत्री व्यवस्थाहरू आए बजारमा सकारात्मक प्रभाव पर्न सक्छ । संस्थागत लगानीकर्तालाई प्रोत्साहन गर्ने व्यवस्था आए बजारले नयाँ लय समात्न सक्छ ।
यता, स्टक ब्रोकर एसोशिएसन अफ नेपालमा पूर्व अध्यक्ष भरत रानाभाट अहिलेको बजार अवस्थाको मुख्य कारण व्यवसायिक वातावरणप्रति देखिएको अन्योलता र लगानीकर्तामा बढ्दो त्रास रहेको बताए । बलियो सरकार बनेपछि बजारमा उत्साह बढ्ने अपेक्षा गरिए पनि पछिल्ला सरकारी गतिविधिका कारण लगानीकर्तामा आत्मविश्वास कमजोर बनेको उनको भनाइ छ । “मजबुत सरकार बनेपछि बजार बढ्ने अपेक्षा थियो । तर पछिल्ला सरकारी क्रियाकलापले व्यवसायिक क्षेत्रका मानिसहरू अलिकति तर्सिएको अवस्था देखिन्छ,” उनले भने ।
रानाभाटका अनुसार व्यवसायिक क्षेत्रसँग जोडिएका व्यक्तिहरूले अहिले लगानी गर्दा पनि वातावरण पूर्ण रूपमा सुरक्षित र सहज नभएको महसुस गरिरहेका छन् । आफूसँग भएको पैसा लगानी गर्दा पनि वातावरण पर्याप्त बनेको छैन कि भन्ने सोच लगानीकर्तामा देखिएको छ । त्यसैले त्यसको असर बजारमा परेको हो ।
उनले उद्योगी व्यवसायीमाथि भइरहेको अनुसन्धान तथा पक्राउका घटनाले बजारमा प्रत्यक्ष प्रभाव पारेको बताए । व्यापार व्यवसाय गर्ने र पैसा कमाउने मानिसहरू बजारबाट अलग छैनन् । उनीहरू कतै न कतै पुँजी बजारसँग जोडिएकै हुन्छन् । सोही कारण पनि यस्ता गतिविधिको प्रभाव सबैभन्दा छिटो पुँजी बजारमै देखिने गरेको छ । अरू उद्योग व्यवसायमा के भइरहेको छ भन्ने तत्काल बाहिर देखिँदैन । तर सेयर बजारमा त्यसको असर तुरुन्तै देखिन्छ ।
रानाभाटले अहिलेको अवस्थाले व्यवसायिक वातावरण अझै सहज बनेको अनुभूति हुन नसकेको संकेत गरेको बताए । “दुईतिहाइको सरकार बनेपछि लगानीकर्ताले ढुक्क भएर लगानी गर्न सक्ने वातावरण खोजेका थिए । निजी क्षेत्रको सहभागिता बिना समृद्धि सम्भव छैन भन्ने अपेक्षा पनि थियो,” उनले भने ।
उनका अनुसार बैंक तथा वित्तीय संस्थामा तरलता बढिरहेका बेला व्यवसायीले ऋण लिएर समेत लगानी विस्तार गर्न सक्ने अवस्था भए पनि आवश्यक मनोस्थिति निर्माण हुन सकेको छैन । लगानीकर्तामा लगानी विस्तार गर्ने आत्मविश्वास विकास हुनुपर्ने हो । तर, अहिलेको सरकारी गतिविधिले त्यसलाई केही पछाडि धकेलेको देखिन्छ ।
रानाभाटले आगामी बजेट र नीतिमार्फत सरकारले बजारलाई कसरी हेर्छ भन्ने स्पष्ट हुने बताए । “अब बजेट आउँछ, त्यसपछि नीति आउँछ । त्यहाँ बजारलाई कसरी हेर्ने भन्ने कुरा स्पष्ट हुन्छ,” उनले भने, “बजेटमा बजारमैत्री व्यवस्था आयो भने विस्तारै बजारले आफ्नो लय समात्छ ।” उनले बजेटसम्मका लागि लगानीकर्ता पर्ख र हेरकोक अवस्थामा रहेको बताए ।