प्रेस स्वतन्त्रताप्रति सरकार पूर्णप्रतिवद्ध छ: सञ्चारमन्त्री तिमिल्सिना
बुधबारको संसद बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले संविधानले दिएको अधिकार कुनै व्यक्तिले आज, भोलि र पर्सीका दिनहरूमासमेत हनन् गर्न नसक्ने बताए ।
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले प्रेस स्वतन्त्रताप्रति सरकार पूर्णप्रतिवद्ध रहेको बताएका छन् । बुधबारको संसद बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले संविधानले दिएको अधिकार कुनै व्यक्तिले आज, भोलि र पर्सीका दिनहरूमासमेत हनन् गर्न नसक्ने बताए । ‘प्रेस स्वतन्त्रताप्रति सरकार पूर्णप्रतिवद्ध छ । यो कोही व्यक्तिले, सरकारको कोही व्यक्तिले होइन कि संविधानले दिएको अधिकार हो। यो अधिकार सुरक्षति छ’, तिमिल्सिनाले भने ‘आज, भोलि र पर्सी यो अधिकार कसैले हनन् गर्न सक्दैन ।’
तर उनले प्रेस स्वतन्त्रता भनेको स्वच्छन्दता नभएको भन्दै गुमाउरो रुपमा धम्कीको भाषासमेत बोले। ‘तर सँगै बुझ्नुपर्ने कुरा के पनि हो भने प्रेस स्वतन्त्रता भनेको स्वच्छन्दता होइन । प्रेस स्वतन्त्रतासँगै जवाफदेहीता पनि आउँछ’, उनले भने । राज्यले, व्यवस्थाले एउटा महत्वपूर्ण अंगका रुपमा स्वीकारेको एउटा महत्वपूर्ण क्षेत्रले आफ्नो ओजलाई, आफ्नो गरिमालाई कायम गर्ने गरी कार्य गर्नुपर्ने उनको भनाइ छ ।