अध्यागमन विभागमा ‘डिजिटल टाइम कार्ड’ लागू, अब अनलाइनबाटै आवेदन ट्रयाक गर्न सकिने
सार्वजनिक सेवाका प्रक्रियालाई डिजिटल, ट्र्याकिङ योग्य तथा पारदर्शी बनाउने उद्देश्यले कार्यान्वयनमा ल्याइएको ‘डिजिटल टाइम कार्ड’सेवाको बिहीवार एक कार्यक्रमकाबीच शुभारम्भ गरिएको हो ।
काठमाडौं । अध्यागमन विभागले ‘डिजिटल टाइम कार्ड’ कार्यान्वयनमा ल्याएको छ । सार्वजनिक सेवाका प्रक्रियालाई डिजिटल, ट्र्याकिङ योग्य तथा पारदर्शी बनाउने उद्देश्यले कार्यान्वयनमा ल्याइएको ‘डिजिटल टाइम कार्ड’सेवाको बिहीवार एक कार्यक्रमकाबीच शुभारम्भ गरिएको हो । सरकारले गत १३ चैतमा सार्वजनिक गरेको १०० बुँदे शासकीय सुधार सम्बन्धी घोषणाअनुसार सञ्चालनमा ल्याइएको विभागले जनाएको छ । शुभारम्भ कार्यक्रममा बोल्दै अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले सेवाग्राहीको आवेदनको रियल टाइममा जाँच कार्य सम्पन्न हुने लाग्ने अनुमानित समय लगायतारे जानकारी दिन रियल टाइम कार्ड लागू गरिएको बताए । अब कुनैपनि नागरिकले आफूले लिन चाहेको सेवाबारे जानकारी लिन कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य हुने समेत उनले दाबी गर्दै टाइम कार्ड लागू भएसँगै विभागमा कार्यरत कर्मचारीको जिम्मेवारी र जवाफदेहिता थप सुदृढ हुने विश्वास व्यक्त गरे । विभागका प्रत्येक शाखाका प्रतिक्षालयमा राखिएको क्यूआर स्क्यान गरेर आफ्नो आवेदन ट्रयाक गर्न सकिने समेत उनले जानकारी दिए ।
प्रणालीअन्तर्गत आवेदन प्रक्रिया ‘सेवाग्राही’, ‘सनाखत’, ‘भौचर जारी’, ‘भुक्तानी जाँच’, ‘भिसा प्रिन्ट’ र ‘सेवा सम्पन्न’ चरणमा विभाजन गरिएको छ । प्रत्येक चरणमा स्वचालित रूपमा ‘टाइम स्ट्याम्प’ अभिलेखीकरण हुने र त्यसको विवरण डिजिटल टाइम कार्डमा देखिने विभागले जनाएको छ । विभागले ‘इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन’ (इटीए), ट्रेकिङ परमिट तथा संस्थागत आवेदनबाहेकका सेवामा सेवाग्राही विभागमा उपस्थित भएर सनाखत तथा कागजात पेस गरेपछि मात्रै डिजिटल टाइम कार्ड सुरु हुने स्पष्ट पारेको छ । राजस्व व्यवस्थापन सूचना प्रणाली, नेपालीपोर्ट वा बैंकिङ प्रणालीमा प्राविधिक समस्या आएमा सेवा प्रभावित हुन सक्ने विभागले जनाएको छ ।