'नेपालले भारतको सीमा मिचेको प्रमाण देखाइयोस्, नत्र प्रधानमन्त्रीको भनाइ रेकर्डबाट हटाइयोस्': कांग्रेस

कांग्रेसकी सचेतक बासना थापाले विशेष समय लिएर बोल्दै नेपालले आफ्नो छिमेकीको भूमि मिचेको इतिहास कतै नभएको स्मरण गराउँदै कहाँनेर जग्गा मिचिएको हो त्यसको प्रमाण सार्वजनिक गर्न प्रधानमन्त्रीलाई चुनौती दिइन् ।

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले संसद्‌मा 'नेपालले पनि भारतको जग्गा मिचेको छ' भनी दिएको अभिव्यक्तिप्रति प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ । आइतबार प्रतिनिधि सभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले दुवै देशले एक-अर्काको सीमा मिचेको आफूले थाहा पाएको बताएपछि कांग्रेसले यसलाई अत्यन्तै गम्भीर र आपत्तिजनक विषय भन्दै कडा प्रतिवाद गरेको हो । कांग्रेसकी सचेतक बासना थापाले विशेष समय लिएर बोल्दै नेपालले आफ्नो छिमेकीको भूमि मिचेको इतिहास कतै नभएको स्मरण गराउँदै कहाँनेर जग्गा मिचिएको हो त्यसको प्रमाण सार्वजनिक गर्न प्रधानमन्त्रीलाई चुनौती दिइन् । दुई देशको सीमाजस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले आधिकारिक तथ्यविना बोल्न नहुने जिकिर गर्दै सचेतक थापाले यदि सीमा मिचेको प्रमाण सरकारसँग छैन भने प्रधानमन्त्रीको उक्त गैरजिम्मेवारपूर्ण अभिव्यक्ति संसद्‌को कार्यबाहीको रेकर्डबाट तत्काल हटाउन सभामुखसँग जोडदार माग गरेकी छन् ।