रास्वपाका पूर्वमहामन्त्री मुकुल ढकाल र सांसद निशा डाँगी विवाह बन्धनमा बाँधिँदै
लामो समयदेखिको प्रेम सम्बन्धलाई मुर्तरूप दिँदै उनीहरूको विवाह आगामी मंसिर १० गते तय भएको हो ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संस्थापक एवं पूर्वमहामन्त्री डा. मुकुल ढकाल र हालकी सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य निशा डाँगी विवाह बन्धनमा बाँधिने भएका छन् । लामो समयदेखिको प्रेम सम्बन्धलाई मुर्तरूप दिँदै उनीहरूको विवाह आगामी मंसिर १० गते तय भएको हो । निकटस्थहरूलाई थाहा भए पनि उनीहरूले आफ्नो प्रेम सम्बन्ध सार्वजनिक गरेका थिएनन् । यद्यपि, मुकुल र निशाबीचको सम्बन्ध यसअघि पनि राजनीतिक वृत्तमा चर्चाको विषय बनेको थियो । उनीहरूको टीकाटालो यसअघि नै भइसकेको छ । अहिले विराटनगर–३, दूधफारमस्थित ढकालको घरमा विवाहको तयारी सुरु भइसकेको छ ।
मंसिर १० गते विराटनगरबाट जन्ती लिएर झापा जाने तयारी छ । विवाह झापाको मंगलबारेस्थित डाँगीका आफन्तको घरबाट हुने तय भएको छ । विवाहको तयारीका लागि ढकाल आज काठमाडौंबाट झापा जाँदैछन् । रास्वपाकी नेतृ एवं पार्टीको केन्द्रीय नेतृत्वमा समेत रहेकी डाँगी २०७९ को निर्वाचनमा समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बनेकी थिइन् । उनी २०८२ को निर्वाचनमा झापा–१ बाट प्रत्यक्ष निर्वाचित भएकी हुन् ।