५० लाखसम्मका गाडीमा मुल्य घट्छ, १ करोडका गाडी चढ्नु विलाशिता होः अर्थमन्त्री वाग्ले
अहिले १ करोड सम्मका विद्युतीय गाडी चढेर हिड्नु विलाशिता हो। यो सबैले स्वीकार गर्नुपर्छ । किलोवाटका आधारमा गाडी भित्राउँदा महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाएपछि व्यवसायीहरु तनावमा थिए ।
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५० लाख रुपैयाँसम्मका विद्युतीय गाडीमा मूल्य घट्ने दाबी गरेका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को बजेटपछिको अन्तरक्रिया कार्यक्रममा विलाशिता गाडीमा मात्रै कर बढाइएको बताए ।
केही वर्षअघिसम्म विद्युतीय गाडीको प्यानिट्रेशन बढाउन धेरै छुट दिएपनि अहिले आवश्यकता अनुसार कर लगाएको अर्थमन्त्री वाग्लेको भनाई छ । ‘अहिले १ करोड सम्मका विद्युतीय गाडी चढेर हिड्नु विलाशिता हो । यो सबैले स्वीकार गर्नुपर्छ,’ अर्थमन्त्री वाग्लेले भने,‘ प्रधानमन्त्रीले ५० लाख तलका गाडीमा कर नबढाउन निर्देशन दिनुभएको थियो । ५० लाख माथीका गाडीमा बढाउँदा खासै फरक नपर्ने आशय थियो ।’
किलोवाटका आधारमा गाडी भित्राउँदा महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाएपछि व्यवसायीहरु तनावमा रहेको दावी अर्थमन्त्री वाग्लेले गरे । किलोवाटको सट्टा मुल्यका आधारमा कर लगाउँदा अटो व्यवसायीहरुले समेत राहात महशुस गरेको भन्दै अर्थमन्त्री वाग्लेले विद्युतीय गाडी पूर्ण रुपमा स्वच्छ उर्जा नभई ब्याट्री व्यवस्थापन गर्ने विषय पेचिलो रहेको दावी गरे ।