परराष्ट्रमन्त्री खनाल आज भारत जाँदै - व्यापार, लगानी, कनेक्टिभिटी, सीमा समस्यामा भ्रमण केन्द्रित रहने

सत्तारुढ रास्वपा सभापति ५ दिने भारतीय भ्रमण सकेर आजै फर्किने

भेटवार्तामा व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा, सीमा समस्या लगायत नेपाल-भारतका सरोकार र प्राथमिकतासँग सम्बन्धित समग्र विषयमा छलफल हुने बताइएको छ ।

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज भारत जाने भएका छन् ।

भारतका विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा भारत जान लागेका खनाल २४ गते फर्कने छन् ।

परराष्ट्र मन्त्रालयकाअनुसार भारत क्रममा मन्त्री खनालले नयाँ दिल्लीमा भारतीय समकक्षी जयशंकरसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ । भेटवार्तामा व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा, सीमा समस्या लगायत नेपाल-भारतका सरोकार र प्राथमिकतासँग सम्बन्धित समग्र विषयमा छलफल हुने बताइएको छ ।

दुवै पक्षले नेपाल-भारत सम्बन्धलाई थप सुदृढ बनाउने तथा पारस्परिक सहकार्य विस्तार गर्ने विषयमा विचार आदानप्रदान गर्ने परराष्ट्र मन्त्रालयले दावी गरेको छ । शुक्रबारै सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछानेको नेतृत्वमा रहेको ५ सदस्यी टोली भारत भ्रमणबाट नेपाल फर्किँदैछ । लामिछानेले भारतमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री जयशंकर र भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष नितिन नवीन लगायतसँग भेटवार्ता गरेका थिए । त्यसैगरि लामिछानेले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरसँग पनि भेटवार्ता गरेका छन् । भारतको सत्तारुढ दल भाजपा अध्यक्ष नवीनको निमन्त्रणामा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा गएका थिए ।