एउटा लघुवित्त जसको सेयर प्रतिकित्ता ६ हजार हाराहारीमा कारोबार भईरहेको छ, के कम्पनी राम्रो भएर मूल्य नघटेको हो ?

दोस्रो बजारमा सूचीकृत अन्य केही लघुवित्त कम्पनीहरूको सेयर मूल्य अधिकतम २ हजार रुपैयाँको वरपर रहँदा आत्मनिर्भर लघुवित्तको सेयर भने करिब ६ हजार रुपैयाँ हाराहारीमा कारोबार भइरहेको छ ।

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत लघुवित्त क्षेत्रमा सबैभन्दा महँगो सेयरको रूपमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड (एएनएलबी) देखिएको छ । दोस्रो बजारमा सूचीकृत अन्य केही लघुवित्त कम्पनीहरूको सेयर मूल्य अधिकतम २ हजार रुपैयाँको वरपर रहँदा आत्मनिर्भर लघुवित्तको सेयर भने करिब ६ हजार रुपैयाँ हाराहारीमा कारोबार भइरहेको छ, जसले आम लगानीकर्ता र बजार विश्लेषकहरूमाझ विशेष चासो, कौतूहलता र नयाँ बहस सिर्जना गरेको छ ।

कम्पनीले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार संस्थाको खुद नाफा १२५.८४ प्रतिशतले बढेर ४ करोड ८४ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा २ करोड १४ लाख रुपैयाँ मात्र सीमित थियो ।

नाफासँगै कम्पनीको खुद ब्याज आम्दानी पनि ११.३५ प्रतिशतले बढेर १० करोड ९८ लाख रुपैयाँ पुगेको छ भने वित्तीय क्षेत्रकै चुनौतीको रूपमा रहेको निष्क्रिय कर्जा (एनपीएल) अनुपात अघिल्लो वर्षको १५.०८ प्रतिशतको अत्यन्तै जोखिमपूर्ण अवस्थाबाट केही सुधार भई ११.१७ प्रतिशतमा झरेको छ ।

हाल संस्थाको चुक्ता पुँजी ७ करोड ८३ लाख ४३ हजार २ सय ८० रुपैयाँ छ भने प्रतिसेयर आम्दानी (इपिएस) ६१.८७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ४२३.२६ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ६६५.१६ रुपैयाँ, तरलता अनुपात ९ प्रतिशत र रिजर्भ कोषमा ३० करोड १४ लाख रुपैयाँ सञ्चित छ ।

आत्मनिर्भर लघुवित्तको पहिलो कारोबार कतिममा भयो?

२०८० वैशाख १९ गते नेप्सेले पहिलो कारोबारका लागि प्रतिसेयर न्यूनतम ३७१.८२ देखि अधिकतम १ हजार ११५.४६ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको आत्ममनिर्भरको पहिलो कारोबार ४०३.८० रुपैयाँमा भएको थियो । सुरुवाती समयदेखि निरन्तर बृद्धि पक्रिएको आत्मनिर्भरले २०८३ वैशाख ३ गते हालसम्मकै उच्च प्रतिकित्ता ६ हजार ९६९ रुपैयाँसम्ममा कारोबार भएको थियो । त्यसयता आत्मनिर्भको मूल्य ५ हजारदेखि ६ हजार रुपैयाँकोबीचमा कारोबार भईरहेको छ । मंगलबार मात्रै आत्मनिर्भरको सेयर प्रतिकित्ता ५ हजार ८७४ रुपैयाँमा कारोबार भएको थियो ।

बजार विश्लेषकहरूका अनुसार आत्मनिर्भरको सेयर मूल्य उच्चस्तरमा टिक्नुको मुख्य कारण केवल यसको वित्तीय प्रदर्शन वा आम्दानी वृद्धि मात्र नभएर यसको विशिष्ट बजार संरचना र गम्भीर प्रकारको माग आपूर्ति (Demand supply) असन्तुलन पनि हो ।

यस संस्थाको कुल सेयरमध्ये सर्वसाधारणतर्फ मात्र ३२.६२५ प्रतिशत हिस्सा रहेको हुनाले बजारमा सर्वसाधारणको स्वामित्वमा रहेको वास्तविक सेयर संख्या १ लाख ६९ हजार ७६५ कित्तामा सीमित छ। तीमध्ये पनि ठूलो हिस्सा दीर्घकालीन रूपमा होल्ड गर्ने प्रवृत्तिका कारण नियमित कारोबारमा नआउने हुँदा बजारमा वास्तविक उपलब्धता (Free Float Share) झन् न्यून हुन गई माग अलिकति मात्र बढ्दा पनि मूल्य तीव्र गतिमा आकाशिने अवस्था सिर्जना भएको हो ।

यस्तो (लो-फ्लोट) वा कम आपूर्ति भएका कम्पनीहरूमा कुनै संस्थागत लगानीकर्ता वा ठूला खेलाडीहरूबाट सानो खरिद चाप (Buying Presure) आउँदा वा कर्नरिङको प्रयास हुँदा सीमित सेयर आपूर्तिका कारण मूल्य असामान्य र अस्वाभाविक रूपमा माथि जान सक्ने बजार जानकारहरू बताउँछन् ।

कम फ्लोट भएका कम्पनीहरूमा मूल्यको उतार-चढाव ( Volatility) तुलनात्मक रूपमा बढी हुने र कतिपय अवस्थामा सानो हल्लाकै भरमा पनि बजारलाई प्रभावित पार्न सकिने जोखिम सधैँ उच्च रहन्छ । विगतको बजार इतिहासलाई नियाल्ने हो भने कुनै समय ५ हजार ४६० रुपैयाँ प्रतिकित्तासम्मको ऐतिहासिक उचाई लिएको जीवन विकास लघुवित्तको सेयर मूल्य मंगलबार १ हजार २८९.९० रुपैयाँमा सीमित भएको छ । उता, कुनै समय ५ हजार ४२० रुपैयाँ प्रतिकित्ता कारोबार भएको महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य मंगलबार १७६०.२० रुपैयाँमा अन्तिम कारोबार भएको छ । 

तसर्थ, विश्लेषकहरूले उच्च सेयर मूल्यलाई सिधै कम्पनीको मजबुत वित्तीय प्रदर्शन वा वास्तविक हैसियतसँग मात्र जोडेर नहेर्न र सीमित सेयर उपलब्धताका कारण सिर्जना हुने कृत्रिम मूल्यवृद्धिबाट बच्न चेतावनी दिएका छन् । लगानीकर्ताहरूलाई केवल बजारमा देखिएको मूल्यको दौड र हल्लाको पछि नलागी कम्पनीको वास्तविक वित्तीय अवस्था, भावी लाभांश क्षमता, मूल्य-आम्दानी अनुपात (P/E Ratio), नेटवर्थ तथा दीर्घकालीन व्यावसायिक सम्भावनाको गहिरो प्राविधिक र मौलिक विश्लेषण गरेर मात्र आफ्नो जोखिम वहन गर्ने क्षमताअनुसार विवेकपूर्ण लगानी निर्णय गर्न बजार विज्ञहरूले सुझाव दिएका छन् ।

यस्तो छ कम्पनीको ५ वर्षको वित्तीय विवरण