दुई रुपैयाँ पनि बदमासी गरेको प्रमाणित भए सार्वजनिक जीवन त्याग्छु : अर्थमन्त्री वाग्ले
अर्थमन्त्री स्वर्णिम वाग्ले ले विद्युतीय सवारीसाधन (ईभी) मा कर वृद्धि हुने सूचना चुहाएको आरोपलाई अस्वीकार गर्दै त्यसलाई प्रमाणित गर्न चुनौती दिएका छन् ।
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले ले विद्युतीय सवारीसाधन (ईभी) मा कर वृद्धि हुने सूचना चुहाएको आरोपलाई अस्वीकार गर्दै त्यसलाई प्रमाणित गर्न चुनौती दिएका छन् । आरोप पुष्टि भए आफू सार्वजनिक जीवनबाटै अलगिन तयार रहेको उनले बताएका छन् ।
बिहीबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै वाग्लेले करको दर बढ्ने जानकारी पूर्वसूचना दिएर केही व्यवसायीलाई फाइदा पुर्याइएको भन्ने आरोपलाई ‘ननसेन्स’ को संज्ञा दिए ।
उनले भने, “यसको प्रमाण लिएर आउनुहुन्छ भने म कठघरामा उभिन तयार छु। दुई अर्ब होइन, स्वर्णिम वाग्लेले दुई रुपैयाँ मात्रै पनि कहीँ बदमासी गरेको प्रमाणित भयो भने म अर्थमन्त्री मात्र होइन, सांसद पदसमेत छाडेर सार्वजनिक जीवन नै त्याग्न तयार छु। यो मेरो खुला चुनौती हो।”
वाग्लेले आफूविरुद्ध लगाइएका आरोप आधारहीन रहेको दाबी गर्दै तथ्य र प्रमाणका आधारमा मात्रै बहस गर्न आग्रह गरे । साथै, अन्य सांसदहरूलाई पनि आफ्नो इमानदारीप्रति यस्तै आत्मविश्वास देखाउन शुभकामना दिए ।
सार्वजनिक लेखा समितिको सोही बैठकमा केही सांसदहरूले आर्थिक विधेयकमार्फत करको दर परिवर्तन हुने सूचना चुहावट भएको र त्यसकै आधारमा ५ हजारभन्दा बढी गाडी आयात हुँदा अर्बौं रुपैयाँ राजश्व हिनामिना भएको आरोप लगाएका थिए ।