उर्जा क्षेत्रका समस्या समाधानका लागि सामूहिक दबाब आवश्यकः पूर्वअध्यक्ष आचार्य
आचार्यले विद्युत खरिद सम्झौता (पीपीए) र साधारण सेयर (आईपीओ) निष्कासनमा देखिएका ढिलाइप्रति आपत्ति प्रकट गरे ।
काठमाडौँ । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था (इप्पान) का पूर्वअध्यक्ष कृष्ण आचार्यले उर्जा क्षेत्रमा व्याप्त समस्या समाधानका लागि सरकारलाई सामूहिक रूपमा दबाब दिनुपर्ने बताएका छन् ।
नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा बोल्दै आचार्यले उर्जा क्षेत्रका जायज मागहरू सम्बोधन गराउन शक्ति प्रदर्शन र एकताको खाँचो रहेको औँल्याए । आचार्यले विद्युत खरिद सम्झौता (पीपीए) र साधारण सेयर (आईपीओ) निष्कासनमा देखिएका ढिलाइप्रति आपत्ति प्रकट गरे । विगत दुई वर्षदेखि उर्जा कम्पनीहरूको आईपीओ प्रक्रिया अवरुद्ध भएको र नियमनकारी निकायमा नेतृत्व अभाव तथा कार्यक्षमताको कमीले गर्दा उद्यमीहरू ठूलो मर्कामा परेको उनले उल्लेख गरे । सरकारी कार्यशैलीको आलोचना गर्दै आचार्यले एकद्वार प्रणाली केवल कागजमा मात्रै सीमित भएको टिप्पणी गरे । उद्यमीहरूबीचको आन्तरिक प्रवृत्तिको चर्चा गर्दै आचार्यले संस्थागत हित विपरित व्यक्तिगत स्वार्थका लागि फाइल दौडाउने महारोगबाट मुक्त हुनुपर्ने बताए । सामूहिक सौदाबाजी गर्नुको सट्टा व्यक्तिगत रूपमा सरकारी निकायमा धाउने प्रवृत्तिले उर्जा उत्पादकहरूको साझा आन्दोलन कमजोर हुने उनको तर्क थियो ।
उनले भने, ‘हामीले पटक-पटक पीपीए गरिदिन आग्रह गर्दा पनि सरकारले सुनेको छैन । यो हाम्रो कमजोरी हो कि सरकारको, यसको स्पष्ट जवाफ आउनुपर्छ । एउटै निकायभित्रका विभिन्न शाखा र प्रशाखाले सिर्जना गर्ने प्रक्रियागत अल्झनले उद्यमीलाई सास्ती दिएको छ । सरकारी निकायमा निवेदन दिनु पशुपतिमा फूल चढाए जस्तै भएको छ, जहाँबाट कुनै प्रतिक्रिया वा कारबाहीको सुनिश्चितता छैन ।’
संस्थाको संरचना ठूलो हुँदै गएको सन्दर्भमा आचार्यले नयाँ कार्यसमितिलाई छुट्टै विधान अधिवेशन बोलाएर विधान परिमार्जन गर्न सुझाव दिए । उनले रोइकराइ गरेर वा बिन्ती बिसाएर मात्र सरकारले माग पूरा नगर्ने भन्दै आफ्नो अधिकार सुनिश्चित गर्न र भविष्य सुरक्षित गर्न सबै उद्यमीहरू एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । सामूहिक सहकार्यबाट मात्र उर्जा क्षेत्रका चुनौतीहरू चिर्न सकिने विश्वास व्यक्त गरे।