माघ १ देखि भ्याटमा दर्ता नभएका ग्यास बिक्रेताले ग्यास नपाउने
आगामी माघ १ गतेदेखि मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता नभएका ग्यास बिक्रेता तथा फर्मले ग्यास नपाउने भएका छन् ।
काठमाडौं । आगामी माघ १ गतेदेखि मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता नभएका ग्यास बिक्रेता तथा फर्मले ग्यास नपाउने भएका छन् । नेपाल एलपी ग्यास उद्योग संघले पुस मसान्तभित्र सबै बिक्रेतालाई भ्याटमा दर्ता हुन निर्देशन दिएको छ ।
सोमबार बसेको उद्योगीहरूको राष्ट्रिय भेलाले तोकिएको समयभित्र दर्ता नभएकासँग कारोबार नगर्ने निर्णय गरेको संघका पूर्वअध्यक्ष तथा नेपाल ग्यासका प्रबन्ध निर्देशक गोकुल भण्डारीले जानकारी दिए । उनका अनुसार थोरै परिमाणमा ग्यास बिक्री गर्ने खुद्रा व्यवसायीलाई समेत करको दायरामा ल्याउन यस्तो व्यवस्था गरिएको हो । यसअघि नै नेपाल आयल निगमले ग्यास खरिद–बिक्रीमा आधिकारिक भ्याट बिल अनिवार्य गरेको छ ।निगमले उपभोक्तालाई ग्यास खरिद गर्दा बिल लिन आग्रह गरेको छ ।
बिलले ग्यासको तौल, गुणस्तर वा चुहावटसम्बन्धी समस्या आएमा उजुरी तथा क्षतिपूर्ति दाबी गर्न सहज बनाउनेछ । साथै कालोबजारी र कृत्रिम अभाव नियन्त्रणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । ग्यासको खुद्रा मूल्यमा भ्याट समावेश भइसकेकाले बिल जारी गर्ने बहानामा उपभोक्तासँग थप रकम लिन नपाइने संघले स्पष्ट पारेको छ ।
यसैबीच व्यावसायिक प्रयोजनका सिलिन्डरलाई नीलो रङ लगाएर छुट्याउने तयारी पनि उद्योगीहरूले गरेका छन् । सरकारले ३० प्रतिशत सिलिन्डरमा नीलो रङ लगाउन निर्देशन दिए पनि पहिलो चरणमा माघ १ देखि १० प्रतिशत सिलिन्डरमा यो व्यवस्था लागू गर्ने प्रस्ताव गरिएको भण्डारीले बताए । एउटा सिलिन्डरमा रङ लगाउन करिब १०० रुपैयाँ खर्च लाग्ने अनुमान छ । त्यस्तै, नेपालमै १९ केजीका व्यावसायिक सिलिन्डर उत्पादन गर्ने सम्भावना रहेको उद्योगीहरूको भनाइ छ ।
ग्यास उद्योगीहरूले बजारमा रहेका ब्राण्डको संख्या घटाएर करिब ३० वटामा सीमित गर्नुपर्ने प्रस्तावसमेत अघि सारेका छन् । यी व्यवस्थाले ग्यासको बिक्री वितरणलाई व्यवस्थित, पारदर्शी र सुरक्षित बनाउने अपेक्षा गरिएको छ।