नेपाल अब ‘दुई ढुङ्गाबीचको तरुल’ मात्र होइन, दुई छिमेकी जोड्ने ‘गतिशील पुल’ बन्नुपर्छः परराष्ट्रमन्त्री

विज्ञापन
ncell

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परम्परागत भू-राजनीतिक परिचयलाई बदल्दै मुलुकलाई दुई ठूला अर्थतन्त्रहरूबीचको ‘गतिशील र विश्वसनीय पुल’का रूपमा विकास गर्नुपर्ने बताएका छन् ।  विगत एक शताब्दीदेखि नेपाललाई ‘दुई ढुङ्गाबीचको तरुल’का रूपमा मात्रै चित्रण गरिने रणनीतिक भाष्यलाई परिवर्तन गर्दै २१ औँ शताब्दीको आवश्यकताअनुसार अघि बढ्नुपर्ने उनको भनाइ छ ।

जर्मन संस्था फ्रेडरिक एबर्ट स्टिफ्टुङ (एफईएस)नेपालद्वारा काठमाडौंमा आयोजित ‘जियोपोलिटिकल कन्फ्लिक्ट इन द वल्फ वल्र्ड’ पुस्तक विमोचन तथा प्यानल छलफललाई सम्बोधन गर्दै मन्त्री खनालले नेपालको परराष्ट्र नीति अब ठोस र रूपान्तरणकारी आर्थिक परिणाममुखी हुनुपर्ने बताए । विश्वव्यापी राजनीतिक घटनाक्रमले नेपालको जनजीवनमा पार्ने प्रभावबारे चर्चा गर्दै मन्त्री खनालले खाडी क्षेत्रको अस्थिरता नेपालीको भान्सा र दैनिक जीवनसँग जोडिएको उल्लेख गरे । उडान अवरोध, सम्झौता स्थगन, ऊर्जाको मूल्य वृद्धि र नेपाली नागरिकको सुरक्षामा पर्ने असरले बहुपक्षीय शान्तिको महत्व झन् बढेको उनको तर्क छ ।

सन् २०२६ सम्ममा अतिकम विकसित राष्ट्र (एलडिसी)बाट स्तरोन्नति हुने नेपालको लक्ष्यमा विश्वव्यापी प्रतिकूल परिस्थिति वाधक बनिरहेको मन्त्री खनालले बताए । व्यापारलाई विकासको इन्जिन मानिए पनि प्रमुख बजारहरूमा रहेका गैर-शुल्क अवरोध र कठोर नियमका कारण व्यापारले मात्र विकास सहायताको स्थान लिन नसक्ने उनले स्पष्ट पारे । जलवायु परिवर्तनमा नेपालको नगन्य योगदान रहे पनि यसको जोखिम उच्च रहेको बताउँदै उनले सन् २०४५ सम्म ‘नेट-जिरो’ उत्सर्जनको लक्ष्य हासिल गर्न ७४ अर्ब अमेरिकी डलर आवश्यक पर्ने जानकारी दिए ।

हिमालयको पारिस्थितिक प्रणालीले अर्बौं मानिसको जीवन प्रभावित पार्ने भएकाले अनुदानमा आधारित जलवायु वित्त र १.५ डिग्री सेल्सियसको सीमाप्रति नेपालले विश्वको ध्यानाकर्षण गराउँदै आएको उनले उल्लेख गरे । मन्त्री खनालले नेपालले हासिल गरेको समावेशी सामाजिक उपलब्धिः जस्तै लैंगिक अल्पसंख्यकको संवैधानिक संरक्षण, योगदानमा आधारित सामाजिक सुरक्षा र विकेन्द्रीकृत संघीय प्रतिनिधित्वलाई नेपालको आधुनिक ‘सफ्ट पावर’का रूपमा चित्रण गरे । यी सुधारहरू बाह्य दबाबमा नभई आफ्नै मूल्य-मान्यताका आधारमा गरिएको उनको दाबी छ । 

नेपालले ‘सबैसँग मित्रता, कसैसँग छैन शत्रुता’ (मैत्री सर्वेषु भूतेषु, वैरमस्ति न किञ्चित) को मूल मन्त्रलाई आत्मसात गर्दै स्वतन्त्र र असंलग्न परराष्ट्र नीति अवलम्वन गर्ने उनले दोहोर्‍याए । परराष्ट्र नीतिलाई घरेलु आकांक्षाको ‘वाह्य पखेटा’ बताउँदै उनले अब ‘आर्थिक राज्यकला’ लाई कुटनीतिको केन्द्रमा राखेर लगानी, स्टार्टअप र सीमापार ऊर्जा करिडोरलाई प्राथमिकता दिइने बताए । 

विश्व मामिलामा देखिएका शक्ति प्रतिष्पर्धा र अन्तर्राष्ट्रिय मान्यताहरूको पतनप्रति चिन्ता व्यक्त गर्दै उनले नेपाल सधैँ संयुक्त राष्ट्रसंघको बडापत्र, बहुपक्षीयता र अन्तर्राष्ट्रिय कानूनको पक्षमा उभिने प्रतिवद्धता व्यक्त गरे । सत्य र प्रज्ञा निर्माणका लागि बौद्ध दर्शनको उदाहरण दिँदै उनले कुटनीतिक संवाद र सत्यनिष्ठामा जोड दिए ।