लगानी बोर्डको सीईओमा नियुक्त याङ्कीले सम्हालिन् पदभार
मन्त्रिपरिषद्को गत साउन २० गते बसेको बैठकले याङ्कीलाई बोर्डको सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो । याङ्कीले सोमबार पदभार सम्हालेकी हुन् ।
काठमाडौँ । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेकी याङ्की उक्याबले १९ दिनपछि सोमबार औपचारिक रूपमा पदभार ग्रहण गरेकी छन् ।
मन्त्रिपरिषद्को गत साउन २० गते बसेको बैठकले याङ्कीलाई बोर्डको सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो । याङ्कीले सोमबार पदभार सम्हालेकी हुन् । पदभार ग्रहण गरेलगत्तै उनलाई बोर्डका गतिविधि तथा आगामी कार्ययोजनाबारे ब्रिफिङसमेत गरिएको छ ।
मन्त्रिपरिषद्ले याङ्कीलाई चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो । यसअघि पनि उनले लगानी बोर्डमा करिब चार वर्ष काम गरेकी थिइन् । सो क्रममा उनले माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत आयोजनालगायत ठूला परियोजनाको लगानी संरचना निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।
विकास अर्थशास्त्रमा अनुभव रहेकी याङ्की काठमाडौँकी स्थायी बासिन्दा हुन् । उनले अक्सफोर्ड विश्वविद्यालयबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरेकी छन् । विकास वित्त, रणनीतिक साझेदारी तथा आर्थिक नीतिका क्षेत्रमा समेत उनको कार्यअनुभव रहेको छ ।
