जेनजी आन्दोलनको घाउ कहिल्यै नपुरिने भन्दै पूर्वप्रधानमन्त्री कार्कीले दिइन् यस्तो सन्देश
आजकै दिन देशको इतिहासमा एउटा पीडादायी घटना भएको र त्यसमा कयौँ युवाले जीवनभर अपाङ्गताको पीडा बेहोर्नुपर्ने गरी घाइते हुनु परेको उल्लेख गरेकी छन् । उनले भनिन्, “त्यस क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति भयो । कयौँ राष्ट्रिय सम्पदा र धरोहर गुमे । राष्ट्रको जीवनमा लागेको यो घाउ सायदै कहिल्यै पुरिनेछ । अब त्यस्तो दिन कदापि दोहोरिनुहुँदैन ।”
काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ-आफ्नो ठाउँबाट इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गर्न सबैसँग आग्रह गरेकी छन् ।‘जेनजी’ आन्दोलनको एक वर्ष पुगेको सम्झनामा आज सामाजिक सञ्जालमार्फत उनले निर्दोष नवयुवाले सुशासन, जवाफदेहिता, पारदर्शिता र उज्ज्वल भविष्यको मागसहित सडक र डिजिटल सञ्जालबाट आवाज उठाउँदा ज्यान गुमाउनु परेको घटना स्मरण गरेकी छन् ।
पूर्वप्रधानमन्त्री कार्कीले आजकै दिन देशको इतिहासमा एउटा पीडादायी घटना भएको र त्यसमा कयौँ युवाले जीवनभर अपाङ्गताको पीडा बेहोर्नुपर्ने गरी घाइते हुनु परेको उल्लेख गरेकी छन् । उनले भनिन्, “त्यस क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति भयो । कयौँ राष्ट्रिय सम्पदा र धरोहर गुमे । राष्ट्रको जीवनमा लागेको यो घाउ सायदै कहिल्यै पुरिनेछ । अब त्यस्तो दिन कदापि दोहोरिनुहुँदैन ।”
पूर्वप्रधानमन्त्री कार्कीले सुशासन छैन भने संसद्को दुई तिहाइ बहुमतले पनि स्थिरता दिन सक्दैन भन्ने स्पष्ट सन्देश जेनजी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई दिएको विषय स्मरण गराएकी छन् । “राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ । त्यसैले सुशासन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र नागरिकको सम्मान सुनिश्चित गर्न सरकारले प्रभावकारी काम गर्न सकोस् भन्ने अपेक्षा गर्दछु”, उनले भनेकी छन् ।
पूर्वप्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनमा सहिद भएका सम्पूर्ण योद्धाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् । उनले जेनजी आन्दोलनबाट भएको ठूलो जनधनको क्षतिको एक वर्ष नपुग्दै अहिले मुलुक भोटेकोशी बाढीको अर्को पीडादायी अवस्थाबाट गुज्रिरहेको उल्लेख गगरेकी छन् ।
पूर्वप्रधानमन्त्री कार्कीले बाढीबाट भएको पीडाको यस दुःखद् घडीमा अझ बढी धैर्य, जिम्मेवारी र एकताका साथ प्रस्तुत हुन तथा एकअर्काको सहारा बन्दै, दुःखमा मल्हम लगाउँदै ऐक्यबद्ध भएर विपद्को सामना गर्न सबैमा आग्रह गरेकी छन् ।
