फैसला कार्यान्वयन नहुँदा नागरिकमा न्यायालयप्रतिको विश्वास घट्यो: सोविता गौतम
उनले फैसला कार्यान्वयनमा देखिएको समस्या समाधानका लागि छुट्टै कानून र संस्थागत संरचना आवश्यक भएको महसुस सरकारले गरिरहेको बताइन् ।
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अदालतबाट भएका फैसलाको प्रभावकारी रूपमा कार्यान्वयन गर्न छुट्टै कानुनी व्यवस्था गरिने बताएकी छन् । बिहीबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उनले फैसला कार्यान्वयनमा देखिएको समस्या समाधानका लागि छुट्टै कानून र संस्थागत संरचना आवश्यक भएको महसुस सरकारले गरिरहेको बताइन् । उनले अदालतमा रहेको मुद्दाको ब्याकलग घटाउनुका साथै फैसला कार्यान्वयनमा देखिएको ‘इम्प्लिमेन्टेसन ग्याप’ अन्त्य गर्ने कुरामा गम्भीर बन्नुपर्ने बेला भएको पनि बताइन् । उनले अदालतबाट फैसला भएपनि त्यसको कार्यान्वयन न्यून दरमा हुनु स्वाभाविक नभएको भन्दै उनले फैसला कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने कुरामा सरकार गम्भीर हुनुपर्ने बताइन् ।
उनले फैसलाको प्रभावकारी कार्यान्वयन नभएकै कारण नागरिकको न्यायालयप्रतिको विश्वास घट्दै गएको पनि बताइन् । फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन सूचना प्रविधिको प्रयोग र विभिन्न निकायका प्रणालीबीच अन्तरआबद्धता कायम गर्नुपर्ने उनको भनाइ छ । उनले फैसलाको प्रभावकारी कार्यान्वयनका लागि डिजिटल प्रणालीमार्फत अद्यावधिक गर्ने व्यवस्था गरिने पनि बताइन् ।
