प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालगञ्ज–दिल्ली सिधा उडानको मुद्दा उठाउन माग
प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा नेपालगञ्ज–दिल्ली सिधा हवाई उडान सञ्चालनका लागि पहल गर्न बाँकेका राजनीतिक दल, उद्योगी व्यवसायी तथा नागरिक समाजले माग गरेका छन् ।
बाँके । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा नेपालगञ्ज–दिल्ली सिधा हवाई उडान सञ्चालनका लागि पहल गर्न बाँकेका राजनीतिक दल, उद्योगी व्यवसायी तथा नागरिक समाजले माग गरेका छन् ।
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको नेतृत्वमा विभिन्न राजनीतिक दल र नागरिक समाजका अगुवाले आज नेपालगञ्जमा प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलाई ज्ञापनपत्र बुझाउँदै उक्त माग गरेका हुन् ।
ज्ञापनपत्रमार्फत नेपालगञ्ज–दिल्ली सिधा हवाई उडान सञ्चालनसँगै नेपालगञ्जमा सुक्खा बन्दरगाह स्थापनाका लागि पहल गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ ।
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष चीरञ्जीवी ओलीले सिधा हवाई उडान सञ्चालन हुन सके यस क्षेत्रको पर्यटन, धार्मिक, शैक्षिक तथा स्वास्थ्य क्षेत्रले ठूलो फड्को मार्ने बताए । उनका अनुसार नेपालगञ्ज–दिल्ली उडानले नेपालगञ्जलाई पर्यटनको प्रवेशद्वारका रूपमा विकास गर्न सहयोग पुग्नेछ ।
त्यस्तै, नेपालगञ्जमा निर्माण भएको एकीकृत जाँच चौकीलाई स्तरोन्नति गरी सुक्खा बन्दरगाहका रूपमा विकास गर्न सके आयात–निर्यात व्यापारमा समेत टेवा पुग्ने व्यवसायीहरूको विश्वास छ ।
भारतसँग सीमा जोडिएको प्रमुख व्यापारिक केन्द्र भए पनि नेपालगञ्ज अन्तर्राष्ट्रिय हवाई सम्पर्क, रेलमार्ग र व्यापारिक पूर्वाधारका हिसाबले अपेक्षित रूपमा अघि बढ्न नसकेको व्यवसायीहरूको गुनासो छ । प्रमुख जिल्ला अधिकारी तामाङले आफू बाँके आएदेखि नै यस विषयमा निरन्तर संवाद गरिरहेको जानकारी दिए ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा, श्रम संस्कृति पार्टीका प्रतिनिधि तथा नागरिक समाजका अगुवाको सहभागिता थियो ।