हाम्रो पात्रोका प्रयोगकर्ताद्वारा बाढीपीडितका लागि १ करोड २५ लाख सहयोग

विज्ञापन
ncell

हाम्रो पात्रोले स्थापनाकालदेखि सूचना तथा डिजिटल सेवामार्फत विश्वभर रहेका नेपाली समुदायलाई जोड्दै आएको जनाएको छ । विपद्का समयमा सामूहिक सहयोग जुटाउने अभियानमा समेत भूमिका खेल्दै आएको हाम्रो पात्रो एप विश्वभर २ करोडभन्दा बढी पटक डाउनलोड भइसकेको कम्पनीको दाबी छ ।

काठमाडौं । हाम्रो पात्रोका प्रयोगकर्ताहरूले नेपालमा हालै आएको विनाशकारी विपद्बाट प्रभावित परिवार तथा समुदायको राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि १ करोड २५ लाख रुपैयाँ सहयोग गरेका छन् । हाम्रो पात्रो कम्युनिटीको पहलमा संकलन गरिएको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ । संकलित सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो ।

रकम हस्तान्तरणसँगै अभियानमा योगदान गर्ने सम्पूर्ण सहयोगीहरूको नामावलीसमेत सरकारलाई बुझाइएको हाम्रो पात्रोले जनाएको छ । विदेशमा रहेका नेपालीहरूले समेत सहज रूपमा राष्ट्रिय राहत अभियानमा सहभागी हुन सकून् भन्ने उद्देश्यले हाम्रो पात्रोले सहयोग संकलन अभियानलाई सहजीकरण गरेको थियो । अभियानमार्फत रकम पठाउँदा कुनै पनि सेवा शुल्क नलाग्ने व्यवस्था गरिएको थियो भने प्रयोगकर्ताले गरेको सम्पूर्ण योगदान राहत कोषमा पुग्ने सुनिश्चित गरिएको कम्पनीले जनाएको छ ।

हाम्रो पात्रोका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत शंकर उप्रेतीले संकलित १ करोड २५ लाख रुपैयाँ प्रयोगकर्ताहरूको सामूहिक योगदान भएको बताए । उनका अनुसार हाम्रो पात्रोले प्रयोगकर्ताहरूबाट प्राप्त सहयोगलाई सरकारसम्म पुर्‍याउने माध्यमको भूमिका मात्र निर्वाह गरेको हो । ‘नेपाललाई आवश्यकता परेको समयमा संसारभर रहेका नेपालीहरूले देखाएको तत्परता, एकता र उदारताप्रति हामी अत्यन्त आभारी छौँ । सानो वा ठूलो, जुनसुकै रकम योगदान गर्ने प्रत्येक व्यक्तिलाई हामी हार्दिक धन्यवाद दिन चाहन्छौँ,’ उप्रेतीले भने ।

हाम्रो पात्रोले स्थापनाकालदेखि सूचना तथा डिजिटल सेवामार्फत विश्वभर रहेका नेपाली समुदायलाई जोड्दै आएको जनाएको छ । विपद्का समयमा सामूहिक सहयोग जुटाउने अभियानमा समेत भूमिका खेल्दै आएको हाम्रो पात्रो एप विश्वभर २ करोडभन्दा बढी पटक डाउनलोड भइसकेको कम्पनीको दाबी छ ।