बिल तिर्न नसक्दा अस्पतालबाहिर सुत्केरी हुनु लज्जास्पद !
अस्पताल प्रशासनले ३ हजार २ सय रुपैयाँको बिल तिर्न भनेपनि पासवानसँग २ हजार ५ सय रुपैयाँ मात्र रहेको जानकारी गराएपछि उपचारमा आनाकानी गरिएको हो । ७ सय रुपैयाँ अपुग भएपछि अस्पतालले उपचार नगरेको कारण अस्पतालको गेटबाहिरै शिशु जन्मिएको कर्णले बताए ।
काठमाडौं । प्रतिनिधिसभा सांसदहरुले अस्पतालको बिल तिर्न नसकेर अस्पतालबाहिर सुत्केरी हुनुपर्ने अवस्था आउनु लज्जास्पद भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार बसेको बैठकमा सांसदहरुले सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका लागि पुगेकी एक सुत्केरी महिलाले आर्थिक अभावको कारण अस्पताल बाहिर सुत्केरी हुनु परेको बताएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र कर्णले राजविराज नगरपालिका-१४ परसाही टोलकी बबिता पासवानले प्रसव पीडाका क्रममा अस्पतालबाहिरै बच्चा जन्माउनुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । सांसद कर्णका अनुसार अस्पताल प्रशासनले ३ हजार २ सय रुपैयाँको बिल तिर्न भनेपनि पासवानसँग २ हजार ५ सय रुपैयाँ मात्र रहेको जानकारी गराएपछि उपचारमा आनाकानी गरिएको हो । ७ सय रुपैयाँ अपुग भएपछि अस्पतालले उपचार नगरेको कारण अस्पतालको गेटबाहिरै शिशु जन्मिएको कर्णले बताए ।
उनले गजेन्द्र नारायण सिंह अस्पताल सप्तरीका गरिब, विपन्न तथा निम्न आय भएका नागरिकका लागि उपचारको प्रमुख केन्द्र भएपनि आर्थिक अभावकै कारण सुत्केरीले अस्पतालबाहिर बच्चा जन्माउनुपर्ने अवस्था आउनु आपत्तिजनक भएको बताए । उनले घटनाको सत्यतथ्य छानविन गरि दोषिलाई कारबाही गर्न माग गरे । रास्वपा कै सांसद अंकिता ठाकुरले पनि घटनाबारे सरकारको ध्यानाकर्षण गराउँदै आर्थिक अवस्था कमजोर भएकै कारण बिरामीले उपचारबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्न माग गरिन् ।
नेपालको संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको हक सुनिश्चित गरेको उल्लेख गर्दै उनले आर्थिक अभावका कारण सुत्केरीले अस्पतालबाहिर बच्चा जन्माउनुपर्ने घटना गम्भीर विषय भएको बताइन् । उनले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा दोषी देखिए कडा कारबाही गर्न सरकारसँग माग गरिन् । सांसदहरुले राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भएको घटनाको सत्यतथ्य छानविन गरि दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
