जो आउँछ ओली, देउवा र प्रचण्डलाई थुन्दिन्छु भन्छ, हामीमाथि मजाक गर्ने: ओली

‘आईजीले भनेको सुन्छु, म केपी ओलीलाई थुन्दिन्छु, प्रचण्डलाई थुन्दिन्छु। केपी ओली, प्रचण्ड र शेरबहादुर देउवा भनेका मजाकका पात्र हुन् यिनका ?’ उनले प्रश्न गरे । यद्यपि, यस्तो अभिव्यक्ति दिने प्रहरी महानिरीक्षक (आईजी) को हुन् र कहिले त्यस्तो भनिएको हो भन्नेबारे ओलीले खुलाएनन् ।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई पक्राउ गरेर देखाउन चुनौती दिएका छन् । बुधबारदेखि सुरु भएको एमालेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले आफूहरूलाई थुनिदिने अभिव्यक्ति आइरहेको भन्दै आपत्ति जनाएका हुन् ।

‘आईजीले भनेको सुन्छु, म केपी ओलीलाई थुन्दिन्छु, प्रचण्डलाई थुन्दिन्छु। केपी ओली, प्रचण्ड र शेरबहादुर देउवा भनेका मजाकका पात्र हुन् यिनका ?’ उनले प्रश्न गरे । यद्यपि, यस्तो अभिव्यक्ति दिने प्रहरी महानिरीक्षक (आईजी) को हुन् र कहिले त्यस्तो भनिएको हो भन्नेबारे ओलीले खुलाएनन् ।

आफूहरूले निरंकुश राजतन्त्रविरुद्ध संघर्ष गरेर आएको उल्लेख गर्दै उनले केही समयअघि मात्र सेवामा प्रवेश गरेका प्रहरी कर्मचारीले नेताहरूलाई पक्राउ गर्ने धम्की दिनु आपत्तिजनक भएको बताए । प्रमाणका आधारमा जोकोहीमाथि पनि कानुनी कारबाही हुन सक्ने उनको भनाइ थियो ।

सम्बोधनका क्रममा ओलीले संविधानको रक्षाका लागि जनता एकजुट हुनुपर्ने आवश्यकता औँल्याए । संविधानमाथि हस्तक्षेप भइरहेको दाबी गर्दै उनले राष्ट्रियता, राष्ट्रिय स्वतन्त्रता र स्वाधीनताको पक्षमा रहेका सबै शक्ति एक ठाउँमा उभिनुपर्ने बताए । राजनीतिक दलहरूबीच एकता कायम गरी एमालेले आन्दोलनको नेतृत्व गर्नुपर्नेमा समेत उनले जोड दिए ।