इम्पेरियल सेक्युरिटिजद्वारा बाढी प्रभावितका लागि २४ लाख ४५ हजार सहयोग

विज्ञापन
ncell

उक्त महाविपत्तिबाट प्रभावित बासिन्दाहरूको उद्धार तथा राहत कार्यमा सरकारलाई सहयोग पुगोस् भन्ने उद्देश्यले कम्पनीले यो रकम प्रदान गरेको हो ।

काठमाडौं । इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेडले भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत तथा पुनःस्थापनाका लागि २४ लाख ४५ हजार ५४५ रुपैयाँ आर्थिक सहयोग गरेको छ । यही भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायत त्रिशूली नदीका तटीय क्षेत्र वरपरका बस्तीहरूमा व्यापक जनधनको क्षति भएको थियो । उक्त महाविपत्तिबाट प्रभावित बासिन्दाहरूको उद्धार तथा राहत कार्यमा सरकारलाई सहयोग पुगोस् भन्ने उद्देश्यले कम्पनीले यो रकम प्रदान गरेको हो ।

कम्पनीले बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । प्राकृतिक विपद्का कारण प्रभावित परिवार, स्थानीय समुदाय र समग्र राष्ट्रले गम्भीर क्षति तथा चुनौतीको सामना गर्नुपरेको उल्लेख गर्दै कम्पनीले संकटको समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्नु जिम्मेवार संस्था तथा नागरिकको साझा दायित्व रहेको जनाएको छ । इम्पेरियल सेक्युरिटिज नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति प्राप्त तथा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ब्रोकर नम्बर ४५ को स्टक ब्रोकर कम्पनी हो। सन् २०१२ देखि सञ्चालनमा रहेको कम्पनीले नेपाली पुँजी बजारका लगानीकर्तालाई विभिन्न वित्तीय तथा धितोपत्रसम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।