सेयर बजार सुधारका लागि १० देखि १२ बुँदे कार्यक्रम ल्याउने तयारीमा सरकार

विज्ञापन
ncell

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजारलाई चलायमान बनाउन सरकारले आगामी सोमबारभित्र १० देखि १२ बुँदे सुधार कार्यक्रम सार्वजनिक गर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २८औं वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री वाग्लेले पुँजी बजारमा देखिएको शिथिलता हटाउन सुधारका कार्यक्रम ल्याउन लागिएको जानकारी दिएका हुन् ।

उनले सरकारले पुँजी बजारलाई चलायमान बनाउने विषयमा गम्भीरतापूर्वक काम गरिरहेको बताए । ‘अर्को सोमबारभित्रमा हामी १०-१२ बुँदे सेयर मार्केटसँग सम्बन्धित केही सुधारका कार्यक्रम लिएर आउँछौं,’ उनले भने, ‘यसले पनि अलिकति राहत दिन्छ र अर्थतन्त्रलाई चलायमान हुने हिसाबले अगाडि बढ्छ भन्ने आशा छ ।’ अर्थमन्त्री वाग्लेले पछिल्लो एक दशकमा भएको अत्यधिक कर्जा विस्तारबाट सिर्जित जटिलतालाई व्यवस्थापन गर्दै अघि बढ्नुपर्ने चुनौती रहेको बताए । नेपालमा निजी क्षेत्रमा प्रवाह भएको कर्जा कुल गार्हस्थ्य उत्पादन ९जीडीपी०को हाराहारीमा पुगेको उल्लेख गर्दै उनले विगतमा भएको अत्यधिक कर्जा विस्तारका अनपेक्षित तथा प्रतिकूल परिणाम व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको बताए ।

‘पहिलाको गैरजिम्मेवारीपनले निम्त्याएका जटिलताहरूलाई फेरि अर्को गैरजिम्मेवारीपन थोपरिदिएर भाग्ने छुट यो सरकारलाई छैन, मलाई छैन,’ उनले भने, ‘त्यसैले असाध्यै संवेदनशील ढङ्गले सुधारको बाटोमा हामी लागेका छौं ।’ उनले पुँजी बजारलाई केवल दैनिक सेयर मूल्यको उतारचढावका आधारमा मात्रै हेर्न नहुने धारणा पनि राखे । उनका अनुसार दीर्घकालीन रूपमा पुँजी बजार उत्पादनशील क्षेत्रमा लगानीयोग्य स्रोत परिचालन गर्ने प्रभावकारी माध्यम बन्नुपर्छ । ‘पुँजी बजारलाई केवल दैनिक सेयर प्राइस मुभमेन्टको लेन्सबाट मात्रै हेर्नु पर्याप्त छैन,’ उनले भने, ‘दीर्घकालमा क्यापिटल मार्केट लङ टर्म प्रोडक्टिभ फाइनान्स मोबिलाइज गर्ने प्ल्याटफर्म बन्नुपर्छ ।’ अर्थमन्त्री वाग्लेले सरकारले अहिले अघि सारेका कदमहरू सावधानी र संयमतापूर्वक लिइएको बताए । पुँजी बजारमा तत्कालको गतिविधिसँगै दीर्घकालीन सुधारलाई समेत ध्यानमा राखेर सरकारले नीति अघि बढाइरहेको उनको भनाइ छ ।उनले सरकारले लिएका कदमको उद्देश्य बजारलाई कृत्रिम रूपमा चलायमान बनाउनेभन्दा पनि दिगो र उत्पादनशील वित्तीय स्रोत परिचालनको आधार तयार गर्नु रहेको संकेत गरे ।