रुसमा ‘शान्ति’ शब्द नै विवादित

विज्ञापन
ncell

स्थानीय अधिकारीहरूले सामग्रीमा ‘चरमपन्थी प्रकृतिका सङ्केत’ रहेको आरोप लगाएका छन् । जेनकिनाले भने रुसमा ‘शान्ति’ शब्द नै आपत्तिजनक र खतरनाकजस्तो व्यवहार हुन थालेको बताएका छन् ।

एजेन्सी । युक्रेनी ड्रोन आक्रमणको प्रत्यक्ष प्रभाव भोगेको रुसी सहर टम्बोभमा संसदीय निर्वाचन नजिकिँदै गर्दा युद्ध अन्त्य र शान्तिको पक्षमा बोल्ने उम्मेदवारले कठिन राजनीतिक वातावरणको सामना गरेका छन् । सेप्टेम्बर १८ देखि २० सम्म हुने निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको युनाइटेड रसिया पार्टीले सहज बहुमत कायम गर्ने अपेक्षा गरिएको छ ।

करिब दुई लाख ५० हजार जनसङ्ख्या रहेको टम्बोभमा गत जुलाईमा युक्रेनी ड्रोनले वाइल्डबेरीको गोदाममा आक्रमण गर्दा सात जनाको मृत्यु र २५ जना घाइते भएका थिए । त्यसको एक महिनापछि भएको अर्को आक्रमणमा गोदाम पूर्ण रूपमा ध्वस्त भएको थियो ।

त्यहाँ करिब पाँच हजार मानिस कार्यरत थिए ।युद्धको विरोध गर्ने याब्लोको पार्टीकी उम्मेदवार याना जेनकिनाले युद्ध अन्त्यका लागि खुला रूपमा आवाज उठाएका छन् । उनका निर्वाचनसम्बन्धी भिडियो स्थानीय टेलिभिजनबाट प्रसारण गर्न रोकिएको छ । स्थानीय अधिकारीहरूले सामग्रीमा ‘चरमपन्थी प्रकृतिका सङ्केत’ रहेको आरोप लगाएका छन् । जेनकिनाले भने रुसमा ‘शान्ति’ शब्द नै आपत्तिजनक र खतरनाकजस्तो व्यवहार हुन थालेको बताएका छन् ।

उनका अनुसार लामो युद्धबाट युवा र वृद्ध दुवै थकित छन् र मानिसहरू सुरक्षित तथा स्थिर जीवन चाहन्छन् । तर युद्धको समर्थन गर्ने धारणा पनि बलियो छ । कम्युनिस्ट पार्टीका उम्मेदवार आन्द्रेई झिडकोभले किएभसँग शान्ति वार्ताको विरोध गर्दै युद्धलाई रुसको अस्तित्व र राज्य सुरक्षासँग जोडेका छन् । उनका अनुसार स्थानीय कम्युनिस्ट पार्टीका छ सदस्य युक्रेन युद्धमा मारिएका छन् ।

युद्धका कारण तेल प्रशोधन केन्द्र प्रभावित हुँदा इन्धन अभाव र मूल्यवृद्धिको दबाबसमेत देखिएको छ । विश्लेषकहरूका अनुसार क्रेमलिनले उच्च मतदानलाई शासनप्रतिको समर्थन र वैधता प्रदर्शन गर्ने माध्यमका रूपमा लिएको छ । तर जेनकिनाले टम्बोभमा भएको ड्रोन आक्रमणले समेत युद्धविरोधी अभियानलाई अपेक्षित जनसमर्थन नदिएको बताएका छन् ।