श्रीमतीको जिम्मामा टोपबहादुर रायमाझी जेलमुक्त

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल सजाय भोगिरहेका पूर्वउपप्रधानमन्त्री एवं नेकपा एमालेका नेता टोपबहादुर रायमाझी रिहा भएका छन् ।

६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने कैद छुटको सुविधाअन्तर्गत रायमाझी जेलमुक्त भएका हुन् । डिल्लीबजार कारागारमा रहेका उनलाई बिहीबार बिहान श्रीमती तथा परिवारका सदस्यको जिम्मा लगाएर रिहा गरिएको कारागार स्रोतले जनाएको छ ।

ज्येष्ठ नागरिकले कैद सजायमा २५ प्रतिशत छुट पाउने कानुनी व्यवस्थाअनुसार रायमाझीले पनि कैद छुटको माग गर्दै अदालतमा निवेदन दिएका थिए । उनको निवेदनका आधारमा अदालतले संशोधित कैदीपुर्जी जारी गरी कैद छुटको व्यवस्था कार्यान्वयन गर्न कारागारलाई पत्राचार गरेको थियो ।

रायमाझी २०८० वैशाख २० गते पक्राउ परेका थिए । अदालतले उनलाई ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहर गर्दै एकमुष्ट चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिबानाको फैसला सुनाएको थियो ।

अदालतको फैसलाअनुसार ठगीमा दुई वर्ष कैद र २० हजार रुपैयाँ, संगठित अपराधमा तीन वर्ष कैद र ३० हजार रुपैयाँ तथा राज्यविरुद्धको कसुरमा एक वर्ष छ महिना कैद र १५ हजार रुपैयाँ जरिबाना तोकिएको थियो । उक्त कसुरमै थप छ महिना कैद सजायसमेत निर्धारण गरिएको थियो । सबै सजाय एकीकृत गर्दा उनको कैद अवधि चार वर्ष कायम भएको थियो ।